सुदूरपश्चिम रोयल्स लगातार जितसहित शीर्ष स्थानमा
काठमाडौँ, मङ्सिर ५ गते । दोस्रो नेपाल प्रिमियर सुपर लिग (एनपिएल)मा गत उपविजेता सुदूरपश्चिम रोयल्सले शुक्रबार पोखरा एभेन्जर्सलाई १८ रनले हराएको छ । सुदूरपश्चिम रोयल्स्को यो लगातार दोस्रो जित हो । सुदूरपशिचमले पहिलो खेलमा काठमाडौँ गोर्खाजलाई हराएको थियो । आजको नतिजासँगै सुदूरपश्चिम रोयल्स अङक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङगशालामा टस हारेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारीत २० ओभरमा सात विकेटको क्षतिमा १९३ रन बनाएको थियो । पोखरा एभेन्जर्सले जवाफमा आठ विकेटको क्षतिमा १७५ रन मात्र बनाउनसक्यो । पोखराको यो लगातार दोस्रो पराजय हो ।
प्रारम्भिक ब्याट्सम्यानद्वय जस ब्राउन र विनोद भण्डारीले पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरेपछि सुदूरपश्चिम रोयल्सले गजबको सुरुआत पाएको थयो । अस्ट्रेलियाका ब्याट्सम्यान ब्राउनले छ चौका र पाँच छक्का ३५ बलमै ६८ रन बनाए । ब्राउन नै प्लेअर अफ द म्याच बने ।
त्यसपछि क्रिस लिन १३ बलमै चार चौका र दुई छक्काहत ३१ रन र विनोदले ४२ बलमा ४३ रन बनाएर आउट भए । दिपेन्द्रसिंहले भने १५ रन मात्र बनाउन सके ।
पोखराको पालिमा कप्तान कुशल भुर्तेल, न्युजिल्यान्डका अलराउन्डर जिमी निसम र इङगल्यान्डका अलराउन्डर डान डाउथवेटले मात्र उल्लेखलायक पालि खेले । निसमले २५ बलमा ४७ रन बनाए । भुर्तेल ३२ बलमा ५३ रन बनाएर आउट भए । भुर्तेलले विराटनगर किङससँगको हारमा पनि ५९ रन बनाएका थिए । त्यसपछि डाउनवेटले १६ बलमा एक चौका र पाँच छक्कासहत ३७ रन बनाए ।
सुदूरपश्चिम रोयल्सका लागि स्पीनर हर्मित सिंहले दुई तथा स्कट कुग्लाइन, दिपेन्द्रसिंह, हेमन्त धामी, इशान पाण्डे, अविनाश बोहरा र नरेन साउदले एक–एक विकेट लिए ।