साताको पहिलो कारोबार दिन नेप्सेमा वृद्धि, कारोबार रकम पनि बढ्यो
काठमाडाैं, ७ मङ्सिर । नेप्से परिसूचक आइतबार ३९.९२ अंकले बढेर २६००.२२ विन्दुमा पुगेको छ।
पछिल्लाे दुई कारोबार दिनमा घटेको नेप्से यस दिन बढेर बन्द भएको हो। सेन्सेटिभ इण्डेक्स ७.६३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६६ अंकले बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। गत बिहीबार ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा, यस दिन ३३४ स्टकको ७६ हजार २८ पटकको कारोबारमा ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार रुपैयाँ बराबरको १ करोड ३३ लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ: सागर डिष्टिलरी, बन्दीपुर केबलकार एण्ड टुरिजम र झापा इनर्जी। स्वस्तिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य भने सर्वाधिक ७.६५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ, जसको ६५ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। पिपुल्स हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे ३४ करोड रुपैयाँ नाघेको छ भने राधी विद्युत कम्पनीको करिब २२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.५५ प्रतिशतले बढेको छ। लगानी उपसमूहको परिसूचक २ प्रतिशतले बढेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो।