धनुषामा कारको ठक्करबाट महिलाको मृत्यु : मृतकका श्रीमान् घाइते
काठमाडौँ, मंसिर ७ । धनुषाको जनकपुर-ढल्केवर सडकखण्डमा कारले ठक्कर दिँदा एक पैदलयात्री महिलाको घटनास्थलमै मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन् ।
आज मिथिला नगरपालिका-२ स्थित हजराचोकमा बागमती प्रदेश ०१–०३१ च २०३६ नम्बरको कारले ठक्कर दिँदा मिथिला–१ लक्ष्मी निवासकी ४६ वर्षीया सुमिन्त्रा देवी महतोको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरका अनुसार सोही दुर्घटनामा मृतकका ५० वर्षीय श्रीमान् राजकुमार महतो घाइते हुनुभएको छ ।
प्रहरीले ठक्कर दिने कार र त्यसका चालक सर्लाही लालबन्दी-६ का १८ वर्षीय दिवस कार्कीलाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको प्रहरीले जनाएको छ ।
