साताको अन्तिम दिन नेप्सेमा निरन्तर वृद्धि, कारोबार रकम सामान्य घट्यो
काठमाडाैं, ११ मङ्सिर । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा १०.४३ अंकको वृद्धि भई २६७६.०३ विन्दुमा पुगेको छ। साताको सुरुदेखि नै बढेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स २.४८ अंकले, फ्लोट इण्डेक्स १.१४ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२१ अंकले बढेको छ।
नेप्से बढे पनि कारोबार रकम भने बुधबारको तुलनामा सामान्य घटेको छ। बुधबार ६ अर्ब ६९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा बिहीबार ३३३ स्टकको ८६ हजार १७० पटकको कारोबारमा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ४६ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। यद्यपि, हिमस्टार उर्जा र फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ७.७८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ, जसको ४० करोड १७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। ङादी ग्रुप पावरको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब १६ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको घटेको छ। बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत बढेको छ। वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचकमा भने सामान्य गिरावट आएको छ।