सरकारको सार्वजनिक संस्थानमा ९ खर्बभन्दा बढी लगानी, प्रतिफल कमजोर
काठमाडौँ, १९ मङ्सिर । गत आर्थिक वर्ष २०८१/८२ सम्ममा नेपाल सरकारले विभिन्न १५९ सार्वजनिक संस्थान तथा निकायमा शेयर र ऋण लगानीका रूपमा कुल रू ९ खर्ब ३० अर्ब ८८ करोड ४ लाख ६८ हजार लगानी गरेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ‘नेपाल सरकारको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन’ अनुसार, सरकारको कुल शेयर लगानी ११६ संस्थानमा रू ४ खर्ब ४ अर्ब ८१ करोड ४१ लाख ५८ हजार रहेको छ। सबैभन्दा बढी शेयर लगानी रहेका संस्थाहरूमा नेपाल विद्युत् प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक छन्।
त्यस्तै, गत आर्थिक वर्षसम्म सरकारको कुल ऋण लगानी रू ५ खर्ब २६ अर्ब ६ करोड ६३ लाख १० हजार रहेको छ। यसमध्ये आन्तरिक स्रोतबाट रू १ खर्ब ५८ अर्ब १८ करोड २१ लाख ८४ हजार र वैदेशिक स्रोतबाट रू ३ खर्ब ६७ अर्ब ८८ करोड ४१ लाख २६ हजार रहेको कार्यालयले जनाएको छ। बढी ऋण लगानी भएका संस्थानहरूमा नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल खानेपानी संस्थान रहेका छन्।
गत आर्थिक वर्षमा सरकारले साँवा फिर्तातर्फ रू २ अर्ब ६२ करोड २९ लाख ९४ हजार ६९५ र ब्याज असुलीतर्फ रू ५ अर्ब २९ करोड ४ लाख ३० हजार ३५६ प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ। सोही आर्थिक वर्षमा मात्र शेयर लगानीतर्फ रू ५ अर्ब ५२ करोड ६ लाख ३४ हजार ५४९ र ऋण लगानीतर्फ रू ३५ अर्ब ९५ करोड ९७ लाख ८७ हजार ६९८ गरी कुल रू ४१ अर्ब ४८ करोड ४ लाख २२ हजार २४७ बराबर लगानी भएको छ।
विभिन्न संस्थान र निकायमा सरकारको ठूलो लगानी भए पनि त्यसको प्रतिफल भने कमजोर देखिएको छ। ऋण तथा शेयर लगानी भएका निकायले समयमा सरकारलाई साँवाब्याज भुक्तानी नगर्दा त्यसको दायित्व क्रमशः बढ्दै गएको देखिन्छ। प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८१/८२ सम्ममा भाका नाघेको साँवा रू २ खर्ब ५९ अर्ब १९ करोड ९७ लाख ३ हजार १२६ र भाका नाघेको ब्याज रू १ खर्ब ४० अर्ब ८८ करोड २३ करोड ९६ हजार १६९ गरी कुल भाका नाघेको रकम रू ४ खर्ब ८ करोड २० लाख ९९ हजार २९५ रहेको छ।
भाका नाघेको साँवा ब्याज बढी भएका सार्वजनिक संस्थानहरूमा नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल खानेपानी संस्थान, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत रहेका छन्।