अहिले एकले अर्कालाई विस्थापित गरेर जाने समय होइन, एकता र सुदृढीकरणको समय हो : उपाध्यक्ष बादल

काठमाडौं, १९ मङ्सिर । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा (बादल)ले अहिले लोकतान्त्रिक राजनीतिक दलको नेतृत्वलाई कमजोर बनाइ प्रतिक्रियावादीहरू सल्बलाइरहेको बताउनुभएको छ।

पार्टीभित्रकाे एकता, निरन्तरता र नेतृत्व संरक्षण अहिलेको अपरिहार्य आवश्यकता रहेको जोड दिँदै थापाले यस विरुद्ध जुध्न आग्रह गर्नुभएकाे छ ।

प्रेस चौतारी नेपालले शुक्रबार आयोजना गरेको संवाद कार्यक्रममा उहाँले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन ‘सामान्य महाधिवेशन नभई प्रतिक्रान्तिविरुद्धको निर्णायक राजनीतिक मोड’ भएको बताउनुभयो। लोकतन्त्र स्थापना गर्ने राजनीतिक दलहरूको नेतृत्वलाई कमजोर पारेर मात्र प्रतिक्रान्ति सफल बनाउन सकिन्छ भन्ने गलत अवधारणाबाट प्रेरित शक्ति अहिले सक्रिय भएको उहाँको भनाइ छ।

थापाले भन्नुभयो, ‘राजनीतिक दलको नेतृत्व विस्थापित गर्ने प्रयास भइरहेको छ, नेतृत्वलाई विस्थापित गरेर मात्र प्रतिक्रान्ति सफल हुन्छ भन्ने सोचबाट प्रतिगामी शक्ति अघि बढेका छन्।’ उहाँले एमालेलाई लक्षित गरी ‘फुटाऊ र शासन गर’ नीतिअन्तर्गत शीर्ष नेतृत्वलाई हटाउने, पुस्तान्तरणको नाममा आफ्नै अनुकूलको नेतृत्व स्थापित गर्ने चलखेल भइरहेको टिप्पणी गर्नुभयो।

यस्तो प्रयास विफल पार्न एमालेले ११औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो। ‘प्रतिगामी शक्ति नेतृत्वलाई सिद्ध्याउन चाहन्छन्, हामी हाम्रो नेतृत्वलाई संरक्षण गर्न चाहन्छौँ, अहिले एक अर्कालाई विस्थापित गरेर जाने समय होइन, एकता र सुदृढीकरणको समय हो, आवश्यक परे विधान संशोधन गरेर भए पनि सबैलाई समेटेर लैजानुपर्छ,’ उहाँले बताउनुभयो।

थापाले अध्यक्ष केपी शर्मा ओलीलाई कम्युनिस्ट आन्दोलनको मूलधार स्थापित गर्ने, एमालेलाई ठूलो पार्टी बनाउँदै देशलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने नेताका रूपमा प्रशंसा गर्नुभयो। ‘प्रतिगामीहरूले फुटाए पनि पार्टी जनमतका हिसाबले पहिलो पार्टी बन्यो, नेपालले विकासशील मुलुकको मान्यता उहाँकै नेतृत्वमा प्राप्त गर्‍यो, त्यसैले अहिले पनि उहाँकै नेतृत्व राष्ट्रिय आवश्यकता हो,’ थापाले भन्नुभयो। उहाँले वर्तमान राजनीतिक परिस्थितिमा अध्यक्ष ओलीको नेतृत्वलाई निरन्तरता दिनु पार्टी र राष्ट्र दुवैका लागि आवश्यक रहेको बताउनुभयो।

उहाँले चेतावनी दिँदै भन्नुभयो, ‘अनावश्यक उम्मेदवारी घोषणाले पार्टीलाई विभाजन र विसर्जनतिर लैजान्छ, महाधिवेशनबाट सहमतिमा आधारित एकताबद्ध नेतृत्व निर्माण गर्नुपर्ने छ।’ अहिलेको अवस्थाले पार्टी र देश दुवैले मेरो भूमिकालाई आवश्यक ठानेको जस्तो लाग्छ, महाधिवेशनबाट आउने नेतृत्वमा मेरो पनि योगदान रहने अपेक्षा छ,’ उहाँले भन्नुभयो।

जेन-जी आन्दोलनको आवरणमा नेपाललाई ध्वस्त बनाउने पश्चिमाहरूको योजना रहेको उहाँले दाबी गर्नुभयो।