एनपीएल: पोखरा एभेन्जर्सद्वारा चितवन राइनोजमाथि आठ विकेटको जित
काठमाडौँ, २० मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले एडम रोसिङटनको अर्धशतकको सहयोगमा चितवन राइनोजलाई आठ विकेटले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एक सय २१ रनको सामान्य लक्ष्य पोखराले १९ दशमलव ४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो।
पोखराको जितमा रोसिङटनले ४८ बल खेल्ने क्रममा पाँच छक्का र चार चौकाको सहयोगमा ६५ रन बनाए। प्रतियोगितामा पहिलो पटक अवसर पाएका अर्जुन कुमालले अविजित ४३ रन जोडे। उनले ५३ बल खेल्दै एक छक्का र दुई चौका प्रहार गरे।
पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२० रन मात्रै बनाउन सक्यो। चितवनका लागि देव खनालले सर्वाधिक ३५ र अल्पेश रामजानीले अविजित ३३ रन बनाए। पोखराका धनन्जय लक्षनले ३ विकेट लिए।
लिग चरणको अन्तिम खेल आइतबार दिउँसो ३ः३० बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ।