क्रुरता

काठमाडौँमा ४ महिने शिशुको हत्या आरोपमा असई पक्राउ : श्रीमतीमाथि पनि निर्घात कुटपिट

काठमाडौँ, मंसिर २२ । काठमाडौँको सिनामंगलमा आफ्नै चार महिने छोराको हत्या गरेको आरोपमा प्रहरीले एक बहालवाला प्रहरी सहायक निरीक्षक (असई) लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत पुष्कर कार्की रहेका छन् ।  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, डोटी घर भई हाल सिनामंगलमा कोठा भाडामा लिएर बस्दै आएका कार्कीले आइतबार साँझ करिब ४ बजेतिर शिशुको हत्या गरेका हुन् ।

शिशुको हत्या आरोपमा पक्राउ परेका कार्कीले आफ्नी श्रीमतीमाथि समेत कुटपिट गरेको खुलेको छ । उनकी श्रीमती पनि त्रिभुवन विमानस्थलमै प्रहरी जवान पदमा कार्यरत छिन् । कार्कीको कुटाइबाट घाइते भएकी उनको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ। प्रहरी प्रवक्ता भट्टराईका अनुसार उनको अवस्था खतरामुक्त रहेको छ ।

प्रहरी अधिकृत जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले आफ्नै नाबालक छोराको हत्या र श्रीमतीमाथि कुटपिट गर्नुको कारण भने खुल्न सकेको छैन । प्रहरीले घटनाको पछाडि पारिवारिक विवाद वा अन्य कुनै कारण हुनसक्ने अनुमान गर्दै अनुसन्धान अघि बढाएको छ ।

अहिले आरोपी कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ । उनलाई आज (सोमबार) म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाउन अदालत उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।