बागलुङमा १९ बालबालिकासहित २१५ एचआइभी सङ्क्रमित, सामाजिक विभेद कायमै
बागलुङ, २२ मङ्सिर । बागलुङ जिल्लामा १९ बालबालिकासहित २१५ जना व्यक्ति एचआइभी सङ्क्रमित भएको पाइएको छ, जो नियमित औषधि सेवन गरिरहेका छन्। करिब १५ वर्षदेखि सङ्क्रमित एक महिलाले समाजले सङ्क्रमितलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन नभएको गुनासो गर्नुभएको छ। उहाँका अनुसार, सङ्क्रमित भएको थाहा पाएपछि परिवार नै समाजबाट अपहेलित हुनुपर्ने र विद्यालयमा समेत बालबालिकाले विभेदको सामना गर्नुपर्ने अवस्था छ।
एचआइभी सङ्क्रमित बालबालिकाहरूले विद्यालयमा विभेद भएको भन्दै परिवारसँग गुनासो गर्ने गरेका छन्। बागलुङमा सङ्क्रमणको सङ्ख्या बढ्दै गए पनि खुलेर समाजमा आउनेको सङ्ख्या भने न्यून छ। यद्यपि, परीक्षण गर्ने, औषधि सेवन गर्ने र सम्पर्कमा रहने सङ्क्रमितको सङ्ख्या बढिरहेको छ।
धौलागिरी अस्पतालको एआरटी (एन्टी रेक्टो ट्रिटमेन्ट) सेन्टर र एड्स सम्बन्धी काम गर्ने गैरसरकारी संस्थाहरूको समन्वयमा बागलुङमा रहेका एचआइभी सङ्क्रमितहरू सम्पर्कमा आउन थालेका छन्, तर उनीहरू सामाजिक विभेदका कारण खुल्न चाहँदैनन्। धौलागिरी प्रादेशिक अस्पतालमा २०६३ सालमा स्थापना भएको एआरटी सेन्टरले सङ्क्रमितको पहिचान, परामर्श, परीक्षण, नियमित औषधि उपचार र गोपनीयता कायम राख्दै सेवा प्रदान गरिरहेको छ।
स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा १० जना र चालु आर्थिक वर्षमा सात जना नयाँ सङ्क्रमित थपिएका छन्। स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माका अनुसार, सङ्क्रमितहरूले सामाजिक विभेदका कारण आफूहरू खुल्न नसकेको बताएका छन्, र उनीहरूलाई गोप्य ढंगले औषधि र परामर्श दिइँदै आएको छ। परीक्षण र परामर्शको दायरा बढाएपछि सङ्क्रमितको सङ्ख्या बढ्न थालेको जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो।
एआरटी सेन्टरका प्रमुख परामर्शदाता प्रदीप आचार्यका अनुसार, सङ्क्रमितहरू अरु मानिससरह बाँच्न सक्छन् भन्ने उद्देश्यका साथ प्रभावित गाउँहरूमा पुगेर नमूना सङ्कलन गरी गोप्य रूपमा उपचार तथा परामर्श दिइएपछि सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो। सेन्टरले एचआइभी एड्ससम्बन्धी गैरसरकारी संस्थाहरूको सहयोगमा सङ्क्रमितलाई उचित परामर्श, नियमित औषधि उपचार, बाटो खर्च र पोषणलगायतका सेवा तथा सुविधा उपलब्ध गराउँदै आएको छ।