एमालेको ११औँ राष्ट्रिय महाधिवेशन तयारी अन्तिम चरणमा, व्यवस्थापन समिति सचिवालयको बैठक सम्पन्न
काठमाडौँ, २२ मङ्सिर । नेकपा एमालेको आगामी मंसिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि व्यवस्थापन समिति सचिवालयको बैठक एमाले मुख्यालय च्यासलमा सम्पन्न भएको छ।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको यस बैठकमा महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफल तथा समीक्षा गरिएको एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो।
उहाँका अनुसार, बैठकमा सबै उपसमितिहरूले गरिरहेका कामको रिपोर्ट पेस गरिएको थियो र महाधिवेशन तयारीको काम अन्तिम चरणमा पुगेको निष्कर्ष निकालिएको छ।
महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले तयारीहरू तीव्र पारिएको छ, र यसका लागि बनेका विभिन्न समिति र उपसमितिहरूले युद्धस्तरमा काम गरिरहेका छन्।
समग्र तयारीको अवस्थाबारे थप छलफल गरी बाँकी काम सम्पन्न गर्न व्यवस्थापन समिति सचिवालयको अर्को बैठक मंसिर २५ गते बस्ने ढुङ्गेलले जानकारी दिनुभयो। महाधिवेशन सम्पन्न गर्न एमालेले यसअघि १३ वटा उपसमिति गठन गरेको थियो।