मेयर साम्पाङद्वारा ऊर्जामन्त्री घिसिङमाथि ‘तगारो बन्न खोजेको’ आरोप

काठमाडौं, २२ मङ्सिर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ऊर्जामन्त्री कुलमान घिसिङलेआफ्नो बाटोमा ‘तगारो बन्न खोजेको’ आरोप लगाएका छन्।

भर्खरै श्रम संस्कृति पार्टी खोलेका मेयर साम्पाङले आज काठमाडौंमा आयोजित आमसभामा बोल्दै घिसिङको नाम नलिइकन ‘बत्ती बाल्ने एक जना सर’ भनेर सम्बोधन गर्दै घिसिङलाई ‘दोहोरो चरित्रको व्यक्ति’ भन्दै यस्ता मान्छे खतरनाक हुने टिप्पणी गरेका हुन्।

साम्पाङले भने, “हाम्रो बाटो छेक्न धेरै मान्छे धेरै कालमा प्रयोग हुन्छन्। अहिले बत्ती बाल्ने एकजना सर बत्ती बाल्छु भन्दै आउनुभएको छ। उहाँले घरी आफ्नो पार्टी होइन पनि भन्नुभो। घरी मेरो पार्टी हो पनि भन्नुहुन्छ। लिस्टमा उहाँको नाम पनि छैन। उहाँलाई देखाएर श्रम संस्कृतिको बाटो छेक्न एउटा तुरुप हानिएको छ।”

आफूले कुनै जाति वा समुदायलाई नभई व्यक्तिलाई मात्र इंगित गरेको साम्पाङले प्रष्टीकरण दिए। उनले थपे, “कहिलेकाहीँ व्यक्ति विशेषलाई गाली गर्नुपर्ने हुन्छ। मलाई पनि गाली गर्दा सहन तयार छु। कोही कसैले मन नदुखाउनु है। नाम पनि भन्दिनँ। श्रम संस्कृतिले यस्ता तगारो टेर्नेवाला छैन। भ्रममा नपर्नुहोला। अरुको त कुरै गर्नु परेन। अरुलाई कहाँ छोड्यौं छोड्यौं। रेसमा कोही छैन। हामी कुदिरहेका छौं। फर्स्ट हो हामी। तर घरि–घरि बाँसको तगारो, केको तगारो आउँछ। यसो हेर्‍यो फलानो रहेछ। हा हा हा। यस्तो दोहोरो चरित्रले नेतृत्व गर्दैन। नेतृत्व प्रष्ट हुन्छ। कन्फ्युज्ड हुँदैन। रहस्यमय मान्छेहरु, दोहोरो चरित्रका मान्छेहरु खतरनाक हुन्छन्।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *