एमालेको ११औँ महाधिवेशन: भक्तपुरमा उद्घाटन, काठमाडौंमा बन्दसत्र, १० हजार स्वयंसेवक परिचालन गरिने
काठमाडौं, २२ मङ्सिर । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा हुँदैछ। महाधिवेशनको बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिनेछ।
महाधिवेशनमा आयोजक र निर्वाचित गरी कुल २ हजार ४०० महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। एमालेमा ७७ जिल्ला र ७ विशेष जिल्ला गरी ८१ वटा जिल्ला कमिटी छन्। संगठित सदस्यको अनुपातका आधारमा प्रतिनिधिसंख्या यकिन गरी छनोट गरिएको छ।
प्रतिनिधि सभा अन्तर्गतको निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि चयन गरिएको छ। २९ सदस्यीय अनुशासन आयोग, ३० सदस्यीय केन्द्रीय लेखा आयोग, २५ सदस्यीय निर्वाचन आयोग र २५ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारी एवं सदस्यहरू स्वतः प्रतिनिधि भएका छन्। बाँकी प्रतिनिधिहरू भने चुनावी विधिबाटै छानिएर आएका हुन्। प्रदेश स्तरीय कमिटीबाट दुई जना महिला सदस्यसहित पाँच जनाका दरले ४५ जना चुनिएका छन्। प्रतिनिधि सभा निर्वाचन क्षेत्रको हकमा १२ सय पार्टी सदस्य बराबर ४० वर्षमुनिका एक युवा, कम्तीमा एक जना महिलासहित चार जना प्रतिनिधि निर्वाचित भएका छन्।
महाधिवेशनमा १० हजार स्वयंसेवक परिचालन गरिनेछ, जुन पार्टीका विभिन्न २४ जनसंगठन र विभिन्न कमिटीबाट तयार पारिएको छ। राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) ले पनि स्वयंसेवाको काम गर्नेछ।
एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा महाधिवेशनको जनपरिचालन समिति गठन गरिएको छ, जसमा केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य विनोद श्रेष्ठ, भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा लगायतका नेताहरू सहभागी छन्।
सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफलमा फैलिएको खुलाचौरमा करिब २ लाख जनसहभागिताको क्षमता रहेको छ। उक्त चौरमा मञ्च व्यवस्थापन, शौचालयलगायत आवश्यक पूर्वाधार निर्माणका लागि स्वयंसेवकहरू खटिएका छन्। उद्घाटनका दिन पूर्वबाट आउने सवारीसाधनलाई जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमबाट आउने सवारीसाधनलाई गठ्ठाघरबाट कमेरोटार क्षेत्रमा व्यवस्थापन गर्ने गरी तयारी गरिएको छ।