कांग्रेसको परिपत्र: पुस ११ भित्र क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाउन निर्देशन
काठमाडौँ, २४ मङ्सिर । नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यताको विषय तत्काल टुङ्ग्याउनका लागि मातहतका निकायहरूलाई परिपत्र जारी गरेको छ।
महामन्त्री गगन थापाले जिल्ला सभापतिहरूलाई पत्राचार गर्दै पुस २६ देखि २८ सम्म निर्धारण गरिएको महाधिवेशनको तयारीमा जुट्न र सदस्यतासम्बन्धी काममा केन्द्रित हुन निर्देशन दिएका हुन्।
परिपत्रमा भनिएको छ, “क्रियाशील सदस्यता नवीकरण नभएका र विवरण पठाउन बाँकी रहेका जिल्लाहरूले अविलम्ब तहगत समन्वय गरी नवीकरण विवरण सङ्कलन गर्नुपर्नेछ। वडादेखि जिल्ला कार्यसमितिको बैठकको निर्णयसहित नवीकरणको सूचीको अन्तिम नामावली र केन्द्रलाई बुझाउनुपर्ने सदस्यता शुल्कसहित कार्यतालिकामा तोकिएको मितिभित्रै केन्द्रमा पठाइसक्नु पर्नेछ।”
निर्धारित मितिभित्र नवीकरणको सूची केन्द्रमा पठाएपछि कुनै पनि कारणबाट छुट हुन गएका सदस्यताहरूको छुट्टै नामावली तयार गरी सोको निर्णयसहित पुस ३ गतेभित्र अनिवार्य रूपमा केन्द्रमा पठाउनुपर्ने पनि परिपत्रमा उल्लेख छ।
पार्टी केन्द्रीय कार्यसमितिको बैठकले नयाँ क्रियाशील सदस्यता वितरणका सन्दर्भमा विधानबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई नै सिधै पठाउने निर्णय गरेकाले सबै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा सदस्यता फारम पठाइएको पनि परिपत्रमा जनाइएको छ।
परिपत्रमा थप भनिएको छ, “एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाले पुस १० गतेभित्र र दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाले पुस ११ गतेभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी नामावली प्रकाशन गरी केन्द्रमा पठाउनुपर्नेछ। १५ औँ महाधिवेशनको कार्यतालिकाबमोजिम सम्पूर्ण प्रक्रिया पूरा गर्नका लागि आफ्ना मातहतका समितिहरूलाई आवश्यक समन्वय र सहयोग गर्नुहोला।”