प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले कार्यभार सम्हालेसंगै भेटे मन्त्री कुलमान

काठमाडौँ, २५ मङ्सिर । सर्वोच्च अदालतको परमादेशबाट नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्बहाली भएका हितेन्द्रदेव शाक्यले आज ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका छन्। मन्त्री घिसिङ भेट्न शाक्य सिंहदरबारस्थित मन्त्रालय पुगेका थिए।

मन्त्रालय स्रोतका अनुसार, भेटवार्ताका क्रममा मन्त्री घिसिङले हाल प्राधिकरणले पूर्ण क्षमतामा काम गर्ने समय रहेको भन्दै यसमा कुनै सम्झौता नगर्न शाक्यलाई सुझाव दिएका छन्।

कार्यकारी निर्देशक शाक्यले भने आफूले विगतमा पनि मन्त्री घिसिङसँग मिलेरै काम गरेको स्मरण गर्दै यस पटक पनि त्यसमा कुनै समस्या नहुने बताएको स्रोतले जनाएको छ। सर्वोच्च अदालतको परमादेशमार्फत प्राधिकरण कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका शाक्यले बुधबारदेखि आफ्नो कार्यभार सम्हालेका हुन्।

शाक्यलाई प्राधिकरणबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरी प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को ५ असोज २०८२ को निर्णयलाई सर्वोच्चले सोमबार कानून विपरीत भन्दै खारेज गरिदिएको थियो। सोही परमादेशसम्बन्धी निर्णय मङ्गलबार प्राधिकरण पुगेपछि शाक्य बुधबार हाजिर भएका थिए।

‘जेनजी आन्दोलन’को बलमा ऊर्जामन्त्री बनेका प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले शाक्यलाई ‘पूर्वाग्रही’, ‘प्रतिशोधपूर्ण’ र ‘स्वेच्छाचारी’ ढङ्गले प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको थियाे । शाक्य त्यस विरूद्ध अदालत पुगेपछि अदालतले त्यसविरुद्ध परमादेश जारी गरेको थियो।

सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको थियो । परमादेशमा भनिएको छ, “शाक्यलाई सो पदबाट हटाउने विभागीय मन्त्रीको प्रस्ताव नै पूर्वाग्रह र प्रतिशोधपूर्ण देखिन आयो। त्यस्तो प्रस्तावमा आधारित भई गरेको निर्णय तथा कामकारबाहीलाई स्वच्छ, न्यायसङ्गत र उचित कारणमा आधारित निर्णय भनी मान्न मिलेन। मिसिलको मुहार (अन द फेस अफ रेकर्ड) बाटै स्वेच्छाचारी देखिएकाले यस्ता निर्णय तथा कामकारबाही कानून र न्यायको रोहमा कायम रहन सक्ने देखिएन।”

‘जेनजी आन्दोलन’पछि घिसिङ ऊर्जामन्त्री नियुक्त भएपछि लामो समयदेखिका प्रतिस्पर्धी शाक्यलाई पदबाट हटाएर आफ्ना निकट सहयोगी सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए।