मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा र च्याङ्ग्रा मरे, लाखौँको क्षति

मुस्ताङ, २६ मङ्सिर । मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गए राति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र तीन च्याङ्ग्रा मरेका छन्।

स्थानीयवासी सन्तोष परियारको भेडाच्याङ्ग्रा खोरमा हिउँ चितुवा पसेर ठूलो क्षति पुर्याएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जानकारी दिएको छ।

किसान परियारको मार्फास्थित गाउँभित्रैको भेडाच्याङ्ग्रा खोरमा रहेका ४५ वटा भेडाच्याङ्ग्रामध्ये १९ वटा चितुवाको आक्रमणबाट मरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो। यस घटनाबाट करिब रु छ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनास्थलमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयको टोली अनुगमनका लागि जाँदै गरेको गुप्तले बताउनुभयो।

पछिल्लो समय मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढ्दै गएको छ। हिउँदमा चरन क्षेत्रमा घाँसको अभाव हुने र हिउँ चितुवाका आहारा प्रजातिहरू चरन क्षेत्र खोज्दै बस्ती नजिक आउने गर्छन्। आहारा पछ्याउँदै हिउँ चितुवा पनि बस्ती नजिकै आएर स्थानीय पशुपालकहरूको पशुधनमा क्षति पुर्याउने गरेको पाइएको छ।

जलवायु परिवर्तनका कारण मानव र हिउँ चितुवाबीचको सहअस्तित्व निर्माण गर्न चुनौती देखिएको छ। यसैका कारण जिल्लाका कतिपय किसानहरूले पशुपालन व्यवसाय नै छोड्न थालिसकेका छन्, जसले स्थानीय अर्थतन्त्र र परम्परागत जीवनशैलीमा समेत असर पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *