२२ वटा मुद्दा र जेलबाट भागेको चोर

१० लाख चोरीको रकमसहित ‘कुख्यात’ चोर पक्राउ

काठमाडौँ, मंसिर २६ । काठमाडौँका विभिन्न स्थानमा चोरी गरेको आरोपमा प्रहरीले १० लाखभन्दा बढी नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी-९ घर भई हाल ठमेल बस्ने २८ वर्षीय दीपक गजुरेल रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, गजुरेलले यही मङ्सिर २४ गते राति सिनामङ्गलस्थित राजश्री फाइनान्स र गएराति सोह्रखुट्टेस्थित ‘नेपाल होलिडे ट्रेक एण्ड ट्राभल्स’को कार्यालय फोडेर धनमाल चोरी गरेका थिए । प्रहरीले उनको साथबाट चोरीको नगद १० लाख २३ हजार ५०० रुपियाँ र विभिन्न सामग्रीहरू बरामद गरेको छ ।

अनुसन्धानका क्रममा गजुरेल ‘पेशेवर अपराधी’ रहेको खुलेको छ । उनीविरुद्ध यसअघि नै चोरी, सहकारी ठगी, लागुऔषध र अभद्र व्यवहार जस्ता कसुरमा २२ वटा मुद्दा दर्ता भइसकेका छन् ।

सबैभन्दा गम्भीर कुरा, उनी गत भदौ २३ र २४ गते केन्द्रीय कारागार (जगन्नाथ देवल) मा भएको प्रदर्शनको मौका छोपी त्यहाँबाट भागेर फरार सूचीमा रहेका व्यक्ति हुन् ।

प्रहरीले उनको साथबाट नगदबाहेक क्यानन क्यामेरा, हार्डड्राइभ, चाँदीजस्तो देखिने पाउजु, नागरिकता, चेकका साथै चोरी गर्दा प्रयोग गरेका लुगा (हुडी, पन्जा) र झोला समेत बरामद गरेको छ ।

गजुरेललाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।