एमाले महाधिवेशन उद्घाटनमा २ लाख बढी सहभागी हुने, यस्तो छ जुलुसको रुट

काठमाडौं, २६ मङ्सिर । नेकपा (एमाले) ले आफ्नो ११औं महाधिवेशनको उद्घाटन सत्रमा दुई लाख बढी मानिस उतार्ने दाबी गरेको छ। भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने उद्घाटन समारोहका लागि एमालेले जुलुसको रुट र पार्किङस्थल समेत तय गरेको छ।

एमालेले भक्तपुरमा पहिलोपटक महाधिवेशनको उद्घाटन गर्न लागेको हो। उद्घाटन सत्रमा सहभागी हुन विभिन्न जिल्लाबाट कार्यकर्ता आउने क्रम सुरु भइसकेको र टाढाका जिल्लाबाट गाडी रिजर्भ गरेर टोलीहरू हिँडिसकेको एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिए।

‘हामीले पाँच लाख जनसमुदाय उतार्ने तयारी गरेका थियौं। तर अहिलेसम्मको विवरणअनुसार न्यूनतम दुई लाख नागरिकको सहभागिता निश्चित भएको छ,’ आचार्यले भने।

कहाँ-कहाँबाट निस्कने छ जुलुस?
उपत्यकाका विभिन्न स्थानबाट आउने र्‍याली र सवारी साधनका लागि एमालेले छुट्टाछुट्टै स्थान तोकेको छ:

काठमाडौंबाट जानेहरू: काठमाडौंतर्फबाट जाने सवारी साधनलाई गट्ठाघरमै रोकिनेछ। त्यहाँबाट महाधिवेशन स्थलसम्मको करिब ३.१ किलोमिटर दूरी जुलुससहित पैदल तय गरिनेछ।

ललितपुरबाट जानेहरू: ललितपुरबाट जाने सहभागीहरू शंखधर चोक (शंखघर) मा जम्मा हुने र त्यहाँबाट जुलुससहित सभा स्थल जाने तयारी गरिएको छ।

पूर्वबाट आउनेहरू: पूर्वबाट आउने सवारी साधनहरू जगातीमा रोकिनेछन्। त्यहाँका इँटा भट्टा र प्लटिङ गरिएका खाली स्थानहरूमा पार्किङको व्यवस्था मिलाइएको छ।

डेढ सय झाँकी प्रदर्शन गरिने
महाधिवेशनलाई उत्सवमय बनाउन उपत्यकाका तीनै जिल्लाबाट व्यापक झाँकी प्रदर्शन गरिने भएको छ। अध्यक्ष आचार्यका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरबाट ५०–५० वटा गरी कुल १५० भन्दा बढी झाँकी प्रस्तुत हुनेछन्।

‘सिंगो उपत्यकाको कला, सामाजिक–सांस्कृतिक सभ्यता र परम्परा झल्कने गरी झाँकीहरू प्रदर्शन हुनेछन्,’ आचार्यले भने।

ट्राफिक व्यवस्थापनलाई ध्यानमा राख्दै जुलुसहरूले सकेसम्म सडकको दायाँ–बायाँ रहेका सर्भिस लेन प्रयोग गर्ने एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिए। सहभागीहरूलाई कार्यक्रम नसकिएसम्म सल्लाघारीको चौरमै रहन निर्देशन दिइएको छ।