एमाले महाधिवेशनस्थलमा सुरक्षा व्यवस्था कडा: बम डिटेक्टर र तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

भक्तपुर, २७ मङ्सिर । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सुरु हुनुअघि कार्यक्रम स्थलको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ।

भक्तपुरको सल्लाघारीस्थित महाधिवेशन स्थलमा कुनै पनि सुरक्षा चुनौती आउन नदिन प्रहरीले विशेष सतर्कता अपनाएको हो।

सहभागी नेता, कार्यकर्ता तथा समर्थकहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहानैदेखि घटनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीले विस्फोटक पदार्थ तथा हतियारजन्य वस्तु पत्ता लगाउने आधुनिक उपकरण (बम डिटेक्टर) र विशेष तालिमप्राप्त कुकुर (स्निफर डग) प्रयोग गरेर मञ्च तथा आसपासको क्षेत्रमा जाँच गरिरहेको छ।

भक्तपुरको सल्लाघारीस्थित सार्वजनिक चौरमा आयोजना गरिएको महाधिवेशनको उद्घाटन सत्र आज मध्याह्न १२ बजेदेखि औपचारिक रूपमा सुरु हुने कार्यक्रम रहेको छ।