एमालेको ११औँ महाधिवेशन आजदेखि: भक्तपुरमा उर्लियो जनसागर, अध्यक्ष ओलीले रिमोटबाट उद्घाटन गर्ने

भक्तपुर, २७ मंसिर । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा सुरु हुँदैछ। महाधिवेशनमा सहभागी हुन देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूको बिहानैदेखि बाक्लो उपस्थिति रहेको छ।

जिल्ला बाहिरबाट राति नै बस रिजर्भ गरेर आएका कार्यकर्ताहरूको बिहानैदेखि उद्घाटनस्थलको गेट बाहिर भीड लागेको छ। एमाले भक्तपुरका अध्यक्ष बचन देउजाका अनुसार मञ्च व्यवस्थापन, ध्वनि, प्रकाश, एलइडी स्क्रिन तथा बसाइँ व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भइसकेका छन्। सुरक्षा जाँचलाई चुस्त बनाउन बिहान १०:३० बजेसम्म गेट बन्द गरिएको थियो भने ११ बजेपछि मात्र सर्वसाधारण र कार्यकर्तालाई प्रवेश दिइएको छ।

रिमोटबाट उद्घाटन र ११ झण्डा
पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १२:३० बजे महाधिवेशनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। मञ्चमा निर्माण गरिएको ऐतिहासिक चाँगुनारायण मन्दिरको प्रतिरूप छेउमा राखिएको विद्युतीय पालालाई ओलीले रिमोटमार्फत बालेर उद्घाटन गर्नेछन्।
यस्तै, ११औँ महाधिवेशनको प्रतीकस्वरुप ११ वटा झण्डा राखिएका छन्। जसमध्ये १० वटा झण्डा सुरुमै फहराइनेछ भने एउटा मुख्य झण्डा अध्यक्ष ओलीले रिमोट दबाएर फहराउने तयारी गरिएको छ।

सुरक्षा व्यवस्था कडा: २५ सय सुरक्षाकर्मी र सीसीटीभी निगरानी
महाधिवेशनस्थलको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका गरी कुल २ हजार ५०० सुरक्षाकर्मी तैनाथ गरिएको छ।

बम डिस्पोजल टोली र तालिमप्राप्त कुकुर (स्निफर डग) प्रयोग गरी मञ्च तथा आसपासको क्षेत्रमा बिहानैदेखि सूक्ष्म जाँच गरिएको छ। मञ्च, प्रवेश द्वार र सभास्थलको निगरानीका लागि ५० भन्दा बढी सीसीटीभी क्यामरा जडान गरिएको छ। एमालेको युवा टोली र सुरक्षाकर्मीले संयुक्त रूपमा निगरानी गरिरहेको अध्यक्ष देउजाले जानकारी दिए।

चाँगुनारायणको स्वरूपमा भव्य मञ्च
एमाले महाधिवेशनका लागि लिच्छविकालीन कला झल्कने गरी भव्य मञ्च निर्माण गरिएको छ। मञ्चमा चाँगुनारायण मन्दिरलाई मुख्य स्वरूपमा र उपत्यकाका अन्य सम्पदाहरूलाई समेटेर आकर्षक डिजाइन बनाइएको छ। टाढा बस्ने सहभागीका लागि ३० फिट अग्ला दुईवटा एलइडी स्क्रिन र ३ किलोमिटरसम्म सुनिने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको छ। मञ्च अगाडि २५ हजार कुर्सीको व्यवस्था छ।

चारैतिरबाट निस्कियो र्‍याली
उद्घाटन सत्रका लागि भक्तपुरका चारवटै नगरपालिकाबाट र्‍याली सुरु भएका छन्। सूर्यविनायक, चाँगुनारायण, भक्तपुर र मध्यपुर थिमि नगरपालिकाका विभिन्न वडाबाट सांस्कृतिक झाँकी, बाजागाजा र भेषभूषासहितका जुलुस कार्यक्रम स्थलतर्फ अघि बढेका छन्। पूर्वतर्फबाट आउनेहरू जगाती र पश्चिमतर्फबाट आउनेहरू गट्ठाघर हुँदै र्‍यालीसहित सभास्थल पुग्ने व्यवस्था मिलाइएको छ।

३ लाख सहभागी हुने दाबी
महाधिवेशनमा २ हजार २६२ प्रतिनिधि सहभागी हुनेछन् भने उद्घाटन सत्रमा करिब ३ लाख जनसहभागिता रहने एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले दाबी गरे। कार्यक्रममा १६ वटा राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना दिनेछन् भने विभिन्न देशका कूटनीतिक नियोगबाट पनि सन्देश प्राप्त भएको एमालेले जनाएको छ।

ट्राफिक व्यवस्थापनका लागि पूर्वबाट आउने सवारी साधनलाई जगातीस्थित ‘भाइरल प्लानिङ’ र काठमाडौंबाट जाने सवारीलाई गट्ठाघरस्थित नागरिक उड्डयन प्राधिकरणको चौरमा पार्किङको व्यवस्था गरिएको छ।