एमालेको ११औँ महाधिवेशन: बन्दसत्र आजदेखि भृकुटीमण्डपमा, नयाँ नेतृत्व चयन प्रक्रिया सुरु
काठमाडौँ, २८ मंसिर । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गतको बन्दसत्र आज (आइतबार) देखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ।
नयाँ नेतृत्व चयन गर्ने मुख्य एजेन्डासहित बिहान ७:३० बजेदेखि बन्दसत्र सञ्चालन गर्ने तयारी गरिएको पार्टीले जनाएको छ।
महाधिवेशनको बन्दसत्रमा देशभरबाट छानिएर आएका २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी हुँदैछन्। यो महाधिवेशनले आगामी कार्यकालका लागि अध्यक्ष, एक महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित कुल २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ।
बन्दसत्र सञ्चालनका लागि पार्टीका सबै पदाधिकारी सम्मिलित अध्यक्षमण्डल गठन गरिएको छ। त्यस्तै, महाधिवेशनको प्रस्ताव लेखन तथा माइन्युट लेखनको जिम्मेवारी उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ।
नेतृत्व चयनका लागि सकेसम्म सर्वसम्मतिको प्रयास गरिने र सहमति जुट्न नसकेको खण्डमा मतदान प्रक्रियामा जाने एमालेको तयारी छ। मतदानका लागि विद्युतीय भोटिङ मेसिन (EVM) को प्रयोग गरिने पार्टीले जनाएको छ।