श्रीमती बेपत्ता भन्दै जाहेरी दिने श्रीमान् नै हत्यारा भएको प्रहरीकाे खुलासा
काठमाडौँ, २८ मङ्सिर । श्रीमती बेपत्ता भएको भन्दै प्रहरीमा जाहेरी दिने श्रीमान् नै श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका छन्।
संखुवासभाको मादीका प्रेम दोर्ची शेर्पालाई प्रहरीले श्रीमती मिना शेर्पाको हत्या गरेको आरोपमा पक्राउ गरेको हो।
मङ्सिर ९ गते राति साढे १० बजेतिर श्रीमती मिना शेर्पा र आफू ओखरबोट बोट बजारबाट फर्कँदै गर्दा मिना बीच बाटोबाटै हिँडेर बेपत्ता भएको भन्दै श्रीमान् प्रेम दोर्चीले प्रहरीमा जाहेरी दिएका थिए। तर, प्रहरीले अनुसन्धान अघि बढाउँदै जाँदा मिनाको हत्या भएको र हत्यामा उनै श्रीमान् प्रेम दोर्चीको संलग्नता रहेको खुल्न आएको प्रहरीले जनाएको छ।
संखुवासभा प्रहरीका सूचना अधिकारी धनबहादुर राजवंशीका अनुसार, प्रेम दोर्चीले त्यस रात बजारबाट घर फर्कने क्रममा विवाद भएपछि श्रीमती मिनालाई कुटपिट गरी हत्या गरेको स्वीकार गरेका छन्। हत्यापछि उनले शवलाई त्रिपालले बेरेर खाल्डो खनी गाडेको पनि प्रहरीलाई बताएका छन्।
प्रहरीले हत्या गरेर गाडेको अवस्थामा शव समेत उत्खनन गरेको छ। घटनाको १९ दिनपछि पक्राउ परेका प्रेम दोर्चीविरुद्ध कर्तव्य ज्यानको कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
