चुनावमा २५ हजारभन्दा बढी चन्दा बैंकमार्फत लिनुपर्ने, उम्मेदवारकाे छुट्टै खाता अनिवार्य

काठमाडौँ, २९ मङ्सिर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउन चुनावी खर्चसम्बन्धी कडा प्रावधान प्रस्ताव गरेको छ।

निर्वाचन आउन करिब ८० दिन बाँकी रहँदा आयोगले राय सुझावका लागि सार्वजनिक गरेको ‘निर्वाचन आचारसंहिता– २०८२’ को मस्यौदामा आर्थिक अनुशासनलाई विशेष प्राथमिकता दिइएको हो।
प्रस्तावित आचारसंहितामा उम्मेदवार र राजनीतिक दलले गर्ने सम्पूर्ण खर्च तथा आम्दानी बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ।

मनोनयनमै खर्चको स्रोत खुलाउनुपर्ने
आयोगले ‘निर्वाचन खर्चसम्बन्धी आचरण’ शीर्षकमा नयाँ व्यवस्था थप गर्दै उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा नै निर्वाचनमा गर्ने अनुमानित खर्च र त्यसको स्रोत खुलाउनुपर्ने प्रस्ताव गरेको छ।
उम्मेदवारले खर्च गर्दा बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्नेछ र सोही खाताबाट मात्र कारोबार सञ्चालन गर्नुपर्नेछ। साथै, उम्मेदवारले आफ्नो तर्फबाट खर्च व्यवस्थापन गर्न एक जिम्मेवार पदाधिकारी तोक्नुपर्ने र निजको नामसहितको विवरण निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराउनुपर्ने व्यवस्था मस्यौदामा समेटिएको छ।

२५ हजारभन्दा बढी चन्दा बैंकिङ प्रणालीबाट
राजनीतिक दलले निर्वाचनसम्बन्धी कारोबार गर्न छुट्टै बैंक खाता सञ्चालन गर्नुपर्नेछ। प्रस्तावित आचारसंहिता अनुसार, दल वा उम्मेदवारले २५ हजार रुपैयाँभन्दा बढीको आर्थिक सहयोग (चन्दा) प्राप्त गर्दा अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत गर्नुपर्नेछ।

यदि २५ हजारभन्दा कम रकम वा स्वेच्छिक सहयोग नगदमा लिएको खण्डमा पनि रसिद वा भरपाई दिई उक्त रकम बैंक खातामा जम्मा गराउनुपर्ने व्यवस्था गरिएको छ।

बिल भरपाई अनिवार्य र लेखापरीक्षण
आयोगले निर्वाचन खर्चको पारदर्शिताका लागि सबै बिल तथा भरपाई सुरक्षित राख्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। आयोगले आदेश दिएको खण्डमा दल तथा उम्मेदवारले बैंक खाताको विवरण र सक्कल बिल भरपाई पेस गर्नुपर्नेछ।

निर्वाचन सम्पन्न भएपछि कानुनले तोकेको अवधिभित्र खर्चको विवरण आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने र उक्त विवरण सार्वजनिक समेत गर्नुपर्ने प्रावधान आचारसंहितामा उल्लेख छ।