एमालेकाे ११औँ राष्ट्रिय महाधिवेशन: आज उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन, भोलि मतदान हुने

काठमाडौँ, २९ मंसिर । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया आज (सोमबार) देखि औपचारिक रूपमा सुरु हुँदैछ।

काठमाडौँको भृकुटीमण्डपमा जारी बन्दसत्रका बीच केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारी दर्ता र नामावली प्रकाशनको कार्यतालिका अघि बढाएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान १०:१५ बजे महाधिवेशन प्रतिनिधिहरूको अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

यस्तो छ आजको कार्यतालिका
मतदाता नामावली प्रकाशन भएलगत्तै उम्मेदवारका आकांक्षीहरूका लागि दरखास्त फारम वितरण तथा दर्ता प्रक्रिया सुरु हुनेछ। बिहान १०:३० बजेदेखि दिउँसो १:३० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ।

दिउँसो २:३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। आयोगले उम्मेदवारविरुद्ध दाबी विरोध वा उजुरी दिनका लागि दिउँसो २:३० देखि ३ बजेसम्मको समय निर्धारण गरेको छ। उजुरीमाथि छानबिन र फिर्ता लिने लगायतका प्रक्रिया पूरा भएपछि साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।

भोलि मतदान
उम्मेदवारको अन्तिम टुङ्गो लागेपछि भोलि (मंगलबार) नेतृत्व चयनका लागि मतदान हुनेछ। मतदान कार्यक्रम बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मका लागि तय गरिएको छ।