सुनसरीको बराहबाट एक क्विन्टल ३० केजी गाँजासहित दुई जना पक्राउ

सुनसरी, २९ मङ्सिर । सुनसरीको बराह क्षेत्रबाट ठूलो परिमाणमा गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले गए राति करिब १२ः४५ बजे बराह क्षेत्र नगरपालिका–३ नडाहा, धरान सडकखण्डको जङ्गल क्षेत्रमा धरानबाट नडाहातर्फ जाँदै गरेको बा १८ च ३८३४ नम्बरको कारबाट १३० केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता चन्द्र खड्काले उक्त जानकारी दिनुभयो।

प्रहरी प्रवक्ता खड्काका अनुसार, उक्त गाडी शंकास्पद देखिएपछि जाँच गर्दा कारको पछाडिको सिट र डिक्कीमा कालो प्लास्टिकमा प्याक गरी राखिएको गाँजा फेला परेको थियो। प्रहरीले कारसहित चालक इटहरी उपमहानगरपालिका–१७ का २४ वर्षीय करण साह र विराटनगर उपमहानगरपालिका–५ का २१ वर्षीय सचिन मेहतालाई नियन्त्रणमा लिएको छ।

बरामद गरिएको गाँजा, कार र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *