४ महिनामा पौने ७ खर्ब रेमिट्यान्स भित्रियो, कात्तिकमा आप्रवाह घट्यो

काठमाडौँ, २९ मङ्सिर । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालमा कुल ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स (विप्रेषण आप्रवाह) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.४ प्रतिशतको उल्लेख्य वृद्धि हो। गत आवको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले बढेको थियो।

यद्यपि, कात्तिक महिनाको तथ्याङ्क हेर्दा असोजको तुलनामा रेमिट्यान्स आप्रवाहमा कमी आएको छ। कात्तिक महिनामा १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन असोज महिनाको २ खर्ब १ अर्ब रुपैयाँको तुलनामा करिब ६४ अर्ब रुपैयाँले कम हो। गत आवको कात्तिक महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो।

चालु आवको चार महिना अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ। गत आवको अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो।
चालु आवको कात्तिकसम्ममा खुद द्वितीय आय ७ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रुपैयाँ रहेको थियो।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा भने केही कमी आएको छ। चालु आवको कात्तिकसम्ममा एक लाख ४५ हजार ९ सय ७३ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्, जबकि गत आवको सोही अवधिमा यो सङ्ख्या एक लाख ४७ हजार ४ सय ७८ थियो। यद्यपि, पुनः श्रम स्वीकृति लिनेको सङ्ख्यामा भने उल्लेख्य वृद्धि भएको छ, जुन चालु आवको कात्तिकसम्ममा एक लाख २७ हजार ८ सय ३७ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *