एमालेको नयाँ नेतृत्वका लागि आज मतदान, अध्यक्षमा ओली र पोखरेलबीच प्रतिस्पर्धा
काठमाडौँ, १ पुस । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ।
नेतृत्वमा सर्वसम्मतिको प्रयास सफल नभएपछि निर्वाचन प्रक्रियाद्वारा पदाधिकारी तथा सदस्यहरू चयन गर्न लागिएको हो। केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान कार्यक्रम दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुनेछ।
अध्यक्ष पदमा सहमति नजुटेपछि वर्तमान अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। अध्यक्षमै दुई धार देखिएपछि अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदहरूमा पनि दुवै नेताका पक्षबाट प्यानलगत उम्मेदवारी परेको छ।
महाधिवेशनमा देशभरबाट आएका २ हजार २ सय ६३ जना प्रतिनिधिले मतदान प्रक्रियामा सहभागी भई नयाँ नेतृत्व चयन गर्नेछन्।