काठमाडौँमा लागुऔषध कारोबारी एक भारतीयसहित तीन पक्राउ

काठमाडौँ, १ पुस । महानगरीय अपराध अनुसन्धान कार्यालयले राजधानीमा सक्रिय लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गर्ने ठूलो सञ्जालको पर्दाफास गर्दै एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको अप्रेसनमा ठूलो परिमाणमा लागुऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा लागुऔषध कारोबारका मुख्य योजनाकार भनिएका भारतको विहार राज्य, मोतिहारी जिल्ला, रक्सौल थाना–४ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने १९ वर्षीय मुन्ना यादव रहेका छन्। उनका साथै मोरङको कानेपोखरी गाउँपालिका–५ घर भई हाल काठमाडौँ–१४ कुलेश्वर बस्ने २३ वर्षीय डोरराज परियार र तनहुँको मिर्लुङ गाउँपालिका–३ घर भई हाल काठमाडौँ–१४ कुलेश्वर बस्ने ३४ वर्षीय कृष्ण भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिँदै भन्नुभयो, “कुलेश्वर क्षेत्रमा लागुऔषधको अवैध कारोबार भइरहेको विशेष सूचना प्राप्त भएपछि हाम्रो टोली सक्रिय भई उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।” प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाहरूले भारतको रक्सौल हुँदै काठमाडौँसम्म लागुऔषधको ओसारपसार र बिक्रीवितरण गर्दै आएको खुल्न आएको छ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट उल्लेख्य परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद गरेको छ। बरामद भएका सामग्रीमा डायजेपाम इन्जेक्सन २ हजार ३९५ थान, प्रोमेथाजिन हाइड्रोकोराइड इन्जेक्सन २ हजार ३०० थान, बुप्रेनोर्फिन इन्जेक्सन २ हजार १५६ थान, ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल (५० मिलिग्राम) २ हजार ७०० थान र मोबाइल फोन १० थान रहेका छन्।

पक्राउ परेका तीनै जनालाई सोमबार थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा बुझाइएको प्रवक्ता आचार्यले बताउनुभयो। यो घटनाले राजधानीमा लागुऔषधको अवैध कारोबार नियन्त्रणमा प्रहरीको सक्रियता बढेको संकेत गरेको छ।