फागुन २१ को निर्वाचन: ७० प्रतिशत तयारी पूरा, खर्चमा कडाइ गरिने
काठमाडौँ, १ पुस । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र गतिमा अघि बढेको जनाएको छ।
आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनसम्बन्धी करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिएका छन्।
मंगलबार आयोगले आयोजना गरेको सरकारका मन्त्रीहरूसहितको निर्वाचन केन्द्रित छलफलमा बोल्दै भण्डारीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न आयोग कटिबद्ध रहेको बताए। राष्ट्रपतिबाट निर्वाचन मिति घोषणा भएदेखि नै शून्यबाट काम थालेको आयोगले हालसम्म सन्तोषजनक प्रगति गरेको उनको भनाइ थियो।
“निर्वाचनको वातावरण बनिरहेको छ। निश्चित प्रक्रिया पूरा गरेर निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन, त्यसमा हामी दृढताका साथ लागिरहेका छौँ,” भण्डारीले भने।
कानुन संशोधन र प्रविधिको आवश्यकता
कार्यवाहक आयुक्त भण्डारीले निर्वाचनसम्बन्धी विद्यमान संविधान, ऐन तथा कानुनहरू पुराना भएको र प्रविधि तथा पद्धति परिवर्तनको माग गर्दै दैनिकजसो आयोगमा ज्ञापनपत्रहरू आउने गरेको उल्लेख गरे। उनले आयोगसँग सम्बन्धित ऐन–नियमलाई संशोधनमार्फत समयसापेक्ष र सहज बनाउनुपर्नेमा जोड दिए।
सरकारी खर्चमा मितव्ययिता, उम्मेदवारलाई कडाइ
छलफलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राखेको खर्च नियन्त्रणसम्बन्धी जिज्ञासाको जवाफ दिँदै भण्डारीले आयोग मितव्ययी हुन सचेत रहेको प्रष्ट पारे।
“सरकारी कोषबाट हुने खर्चमा हामी अत्यन्त मितव्ययी छौँ, २०७९ सालका दुई निर्वाचनमा पनि हामीले यो नीति व्यवहारमा उतारिसकेका छौँ,” उनले भने। साथै, उनले दल र उम्मेदवारले गर्ने चुनावी खर्चमा पनि कडाइ गरिने बताए। भूगोल र मतदाता सङ्ख्याका आधारमा वैज्ञानिक ढङ्गले खर्चको सीमा तोकिने आयोगले जनाएको छ।