बैंक तथा वित्तीय संस्थामा उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ: राष्ट्र बैंक

काठमाडौँ, २ पुस । पछिल्लो समय बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीहरूलाई लक्षित गरी भएका घटनाहरूप्रति नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

केन्द्रीय बैंकले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्ता गैरव्यावसायिक र उच्छृङ्खल गतिविधिमा संलग्नलाई प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणबाट सङ्कलन गरेको निक्षेप नै कर्जाका रूपमा प्रवाह गर्ने स्पष्ट पारेको छ। कर्जा असुली नभए निक्षेपकर्ताको रकम फिर्ता गर्न नसकिने र यसले समग्र वित्तीय तरलतामा असर पर्ने हुँदा ऋणीले नियमित रूपमा ऋण भुक्तानी गर्नुपर्नेमा बैंकले जोड दिएको छ।

कुनै प्रतिकूल परिस्थितिका कारण ऋण तिर्न नसकेको अवस्थामा राष्ट्र बैंकले कर्जा पुनरसंरचना र पुनरतालिकीकरणको सुविधा दिँदै सहजीकरण गरिरहेको विज्ञप्तिमा उल्लेख छ। साथै, ग्राहकलाई कुनै मर्का परेमा वा गुनासो भएमा सम्बन्धित संस्था वा राष्ट्र बैंककै गुनासो सुनुवाइ संयन्त्रमा सम्पर्क गर्न सकिने व्यवस्था रहेको स्मरण गराइएको छ।

वित्तीय संस्था र कर्मचारीविरुद्धका अराजक गतिविधिले वित्तीय सेवा प्रवाहमै बाधा पुग्ने भन्दै राष्ट्र बैंकले त्यस्ता क्रियाकलापमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ। साथै, सुरक्षाको प्रत्याभूति दिलाउँदै बैंकले वित्तीय क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *