निर्वाचन आचारसंहितामा कडा प्रस्ताव: र्‍यालीमा १० वटा मात्र झण्डा, २५ जनाभन्दा बढी हिँड्न नपाइने

काठमाडौँ, २ पुस । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भड्किलो हुन नदिन कडा आचारसंहिता प्रस्ताव गरेको छ।

आयोगले प्रचारप्रसारका क्रममा भीडभाड र तामझाम नियन्त्रण गर्ने उद्देश्यले झण्डाको प्रयोग र जुलुसको आकारमा सीमा तोक्ने प्रस्ताव अघि सारेको हो।

प्रस्तावित आचारसंहिता अनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस, कोणसभा वा घरदैलो कार्यक्रममा १० वटाभन्दा बढी झण्डा प्रयोग गर्न पाइने छैन। झण्डाको अत्यधिक प्रयोगले विकृति निम्त्याएको निष्कर्षसहित आयोगले यस्तो सङ्ख्या तोकेको हो। साथै, कार्यक्रममा दल वा उम्मेदवारको नाम र चिन्ह भएको एउटा मात्र तुल वा फ्लेक्स राख्न पाइने प्रस्ताव गरिएको छ।

आयोगले घरदैलो कार्यक्रमलाई पनि व्यवस्थित बनाउन सङ्ख्या तोकेको छ। उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढीको हुल बनाएर घरदैलोमा जान पाइने छैन। यस्तै, प्रचारका क्रममा बाजागाजा, झाँकी प्रदर्शन गर्न तथा गाडी, मोटरसाइकल, साइकल वा अन्य सवारी साधन प्रयोग गरी र्‍याली निकाल्न पनि नपाउने प्रस्ताव गरिएको छ।

आयोगले उम्मेदवार वा दलको कार्यालयमा ३×४ फिटको कपडाको झण्डा वा साइनबोर्ड बाहेक अन्य डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ। अनलाइन, टिभी स्क्रोलिङ, सपिङ मलको डिस्प्ले, बैंकका एटीएम वा काउन्टर र सडक नाटकमार्फत प्रचार गर्न पाइने छैन।

यद्यपि, उम्मेदवारले आफ्नो एउटा आधिकारिक निजी वेबपेज वा सामाजिक सञ्जालमा भने प्रचार सामग्री राख्न पाउनेछन्। निर्वाचनलाई स्वच्छ, शान्त, र मितव्ययी बनाउन यस्तो आचारसंहिता प्रस्ताव गरिएको आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *