वीरगञ्जबाट १७६ किलो गाँजा बरामद : पिकअप भ्यानसहित चालक नियन्त्रणमा
काठमाडौँ, पुस २ । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजासहित एउटा पिकअप भ्यान र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले मंगलबार वीरगञ्ज महानगरपालिका–१७, अलौस्थित सडकखण्डबाट १ सय ७६ किलोग्राम गाँजा बरामद गरेको हो ।
प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार, बा २१ च ७८५५ नम्बरको पिकअप भ्यानमा जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो । तस्करहरूले भ्यानको पछाडि परालले छोपेर (लुकाएर) ल्याएको अवस्थामा उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले भ्यान चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका निवासी २८ वर्षीय सुबराज श्रेष्ठ रहेका छन् ।
पक्राउ परेका चालक, बरामद गरिएको गाँजा र सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
