समाजमा अझै छन्, भागेका बन्दीकैदी

तनहुँ कारागारबाट फरार ६८ कैदीबन्दी अझै सम्पर्कविहीन : अवैध पेस्तोलसहित बाराका एक युवा पक्राउ

काठमाडौँ, पुस ५ । गत भदौ २४ गतेको ‘जेनजी आन्दोलन’ का क्रममा तनहुँ कारागारबाट फरार भएका कैदीबन्दीमध्ये ६८ जना अझैसम्म सम्पर्कमा आएका छैनन्। कारागारमा रहेका कूल ३२७ कैदीबन्दीमध्ये हालसम्म २५९ जना फिर्ता भए पनि बाँकीको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकका अनुसार फरार रहेकाहरूको खोजी कार्यलाई सघन बनाइएको छ । केही कैदीहरू स्वतःस्फूर्त रूपमा कारागार फर्किएका छन् भने कतिपयलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरिरहेको छ । यसैक्रममा, नकवजनी चोरी मुद्दामा सजाय काटिरहेका गोरखा पालुङटार-७ का २२ वर्षीय सुमन परियारलाई बिहीबार पक्राउ गरी पुनः कारागार चलान गरिएको छ ।

तनहुँ प्रहरीले शुक्रबार बिहान एक थान कटुवा पेस्तोलसहित बाराका एक युवालाई नियन्त्रणमा लिएको छ । आँबुखैरेनी गाउँपालिका-४, बेनिटारस्थित पृथ्वीराजमार्गमा सवारी चेकजाँचका क्रममा बारा सुवर्ण गाउँपालिका-१ का १९ वर्षीय ओम बाबुप्रसाद यादव पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकबहादुर कार्कीका अनुसार बाराको कलैयाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख २७५ नम्बरको बसमा सवार यादवको खानतलासी गर्दा बिहान ३:१० बजे पेस्तोल फेला परेको थियो । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखी थप अनुसन्धान अगाडि बढाइएको छ ।

अस्थायी प्रहरी पोष्ट मुग्लिन पुल जीपबाट खटिने प्रहरी टोलीले राजमार्गमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सवारी चेकजाँचमा कडाइ गरेको छ। फरार कैदीहरूको खोजी र आपराधिक गतिविधि नियन्त्रणका लागि जिल्लाभर सुरक्षा व्यवस्था चुस्त पारिएको प्रहरीले जनाएको छ ।