भक्तपुरमा एक महिनामा १४ जघन्य अपराध : ७१ आर्थिक र ६७ बैंकिङ कसुरका मुद्दा

भक्तपुर, ६ पुस । भक्तपुर जिल्लामा पछिल्लो एक महिनामा जघन्य अपराधका घटनामा वृद्धि भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले सार्वजनिक गरेको मङ्सिर महिनाको अपराध तथ्याङ्क अनुसार एक महिनाको अवधिमा मात्रै १४ वटा गम्भीर प्रकृतिका अपराधका घटना दर्ता भएका छन् ।

परिसरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जवेजुका अनुसार मङ्सिर महिनामा कुल १३२ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये ७१ वटा आर्थिक अपराधका घटना रहेका छन्, जसमा बैंकिङ कसुरका मात्रै ६७ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । जिल्लामा पछिल्लो समय बैंकिङ कसुरका घटना सबैभन्दा बढी देखिएको तथ्याङ्कले पुष्टि गरेको छ ।

गम्भीर अपराधको अवस्था
प्रहरीका अनुसार मङ्सिर महिनामा आठ वटा लागुऔषध, चार वटा जबर्जस्ती करणी र दुई वटा मानव बेचबिखनका घटना भएका छन् । यस्तै, प्रहरीले सार्वजनिक चासोको विषय बनेका दुई वटा कर्तव्य ज्यान (हत्या) मुद्दाको सफल अनुसन्धान गरी टुङ्गोमा पुर्‍याएको जानकारी दिएको छ । यसैगरी, सोही अवधिमा जिल्लामा ५ वटा आत्महत्याका घटना भएका छन् ।

पक्राउ र फैसला कार्यान्वयन
अपराध अनुसन्धानका क्रममा प्रहरीले एक महिनामा ३७ जनालाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले सक्रियता देखाउँदै ३७ जना फरार अभियुक्तलाई पक्राउ गरी रु ३८ लाख १३ हजार ८०० जरिवाना असुल गराएको छ । पक्राउ परेकाहरूलाई कुल ७ वर्ष ६ महिना १६ दिन कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ ।

महिला तथा बालबालिका सम्बन्धी उजुरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका मुद्दा पनि उल्लेख्य सङ्ख्यामा रहेका छन् । परेका ४९ उजुरीमध्ये ३३ वटामा मिलापत्र गरिएको छ भने १६ वटा प्रक्रियामा रहेका छन् । मङ्सिरमा हराएका ११ जना बालिका सबै फेला परेका छन् भने ८ महिलामध्ये ६ जना र ७ पुरुषमध्ये ५ जनालाई प्रहरीले फेला पार्न सफल भएको छ । घरेलु हिंसातर्फ श्रीमान्–श्रीमतीबीचको झगडाका २० उजुरी परेकामा ११ वटामा सहमति गराइएको छ ।

पीडक र पीडितको उमेर समूह
तथ्याङ्क विश्लेषण गर्दा अपराधमा १८ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरूको संलग्नता बढी देखिएको छ । सो उमेर समूहका ३६ जना पीडक र ३३ जना पीडित रहेका छन् । त्यस्तै, ४० देखि ६० वर्ष उमेर समूहका २० जना पीडक र १६ जना पीडित रहेको डीएसपी जवेजुले जानकारी दिनुभयो ।

लागुऔषधका ८ वटा घटनामा प्रहरीले १२ जनालाई पक्राउ गरी विभिन्न अवैध पदार्थ बरामद गरेको छ । जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त भएका ४४ उजुरीमध्ये ४० वटा फछ्र्यौट भइसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *