संसद पुनःस्थापनाका लागि बहुमत सांसद पूरक निवेदन बोकेर सर्वोच्च जाँदै

काठमाडौँ, ७ पुस । प्रतिनिधि सभा विघटनविरुद्धको कानुनी लडाइँलाई थप सशक्त बनाउन प्रमुख प्रतिपक्षी र अन्य दलका बहुमत सांसदहरू पूरक निवेदनसहित सर्वोच्च अदालत जाने भएका छन् ।

संसद पुनःस्थापनाको माग गर्दै नेपाली कांग्रेसका थप ७० सांसदले आज सर्वोच्चमा पूरक निवेदन दर्ता गर्ने तयारी गरेका हुन् ।

यसअघि नेकपा एमालेले संस्थागत निर्णय नै गरेर ७५ सांसदको हस्ताक्षरसहित रिट निवेदन दर्ता गरिसकेको छ । त्यस्तै, कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसहित ८ सांसदले दायर गरेको रिटमा सर्वोच्च अदालतले यसअघि नै ‘कारण देखाउ आदेश’ जारी गरिसकेको छ ।

विघटित प्रतिनिधि सभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, संसद पुनःस्थापना भएमा नयाँ सरकार गठन गर्न र संविधान संशोधन जस्ता महत्त्वपूर्ण कार्य गर्न सकिने बताउनुभयाे ।

१ सय ३८ भन्दा बढी सांसदहरूको भौतिक उपस्थिति वा हस्ताक्षरसहित पूरक निवेदन दिएर अदालतलाई बहुमतको सुनिश्चितता दिलाउने दलहरूको रणनीति छ ।

कांग्रेस र एमाले बाहेक अन्य दलहरूलाई पनि यो अभियानमा समेट्ने प्रयास भइरहेको छ । जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूको समेत हस्ताक्षर जुटाएर सामूहिक रूपमा पूरक निवेदन दिने जनाइएकाे छ ।

संसद विघटन असंवैधानिक भएको दाबी गर्दै आएका दलहरूले बहुमत सांसदको सक्रियताले सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई थप अर्थपूर्ण बनाउने देखिएको छ ।