सुन र चाँदीको मूल्यमा ऐतिहासिक रेकर्ड: सुन प्रतितोला २ लाख ६१ हजार ७ सय पुग्यो
काठमाडौँ, ७ पुस । नेपाली बजारमा सुन र चाँदीको मूल्यले फेरि नयाँ ऐतिहासिक उचाइ कायम गरेको छ।
सोमबार दुवै धातुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ तोकिएको छ। यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँले बढेकाे हो।
गत सोमबार प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएर रेकर्ड कायम भएको थियो।
सुनसँगै चाँदीको भाउले पनि नयाँ कीर्तिमान बनाएको छ।
अघिल्लो दिनको तुलनामा प्रतितोला १३० रुपैयाँले बढेर चाँदीको मूल्य ४ हजार २३५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो। केही दिनयता चाँदीको भाउ लगातार बढ्दै नयाँ रेकर्ड बनाउने क्रममा छ।