शेयर बजारमा १३ अङ्कको गिरावट: नेप्से २५८१ को बिन्दुमा झर्दा साढे ३ अर्बको कारोबार
काठमाडौँ, ७ पुस । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ओरालो लागेको छ । नेप्से परिसूचक १३.८८ अङ्कले घटेर २,५८१.२१ को बिन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार आज ३३२ कम्पनीको ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर ६५ हजार ३१२ पटक खरिदबिक्री भएको छ । दिनभरिको कारोबारबाट कुल ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार ७१८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबारको बजारमा ‘व्यापार’ समूहको उपसूचकबाहेक अन्य सबै क्षेत्रका उपसूचकहरू घटेका छन् । बढ्दो बजारमा पनि एसवाई प्यानल नेपाल लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि हुँदै सकारात्मक सर्किट लागेको छ । अर्कातर्फ, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सबैभन्दा धेरै ६.८४ प्रतिशतको गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज लुम्बिनी विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । उक्त बैंकको १० करोड ३० लाख ८९ हजार ११४ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
त्यसैगरी, कारोबार भएको सेयर सङ्ख्याका आधारमा ‘गरिमा समृद्धि योजना’ सबैभन्दा अगाडि देखिएको छ । यस योजनाको १२ लाख ७७ हजार १८० कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।