सिंहदरबार जलाउने अभिव्यक्ति दिने बालेनसंग मानवअधिकार आयोगले लियाे २ घण्टा बयान
काठमाडौं, ७ पुस । जेन–जी आन्दोलन भन्दा अघि राष्ट्रिय सम्पत्ती सिंहदरबार जलाइदिने अभिव्यक्ति दिने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसंग मानवअधिकार आयोगले २ घण्टा बयान लिएका छन् ।
भदौ २३ र २४ गते भएका घटनाको छानबिनका क्रममा राष्ट्रिय मानव अधिकार आयोगले प्रमुख शाहसंग सोमबार करिब दुई घन्टासम्म बयान लिएकाे हाे । जेन–जी आन्दोलनसँग सम्बन्धित घटना बारे आयोगले कार्यालयमै बाेलाएर शाहसंग बयान लिएका हुन्।
आयोग स्रोतका अनुसार करिब दुई घन्टासम्म भएको सोधपुछमा शाहसँग घटनाका दिन उनी कहाँ थिए, सामाजिक सञ्जालमा आएका अभिव्यक्तिहरू, सिंहदरबार जलाउने प्रसंग, महानगरको सुरक्षा व्यवस्था तथा दमकल ढिलो पुगेको विषयमा प्रश्नहरू सोधिएका थिए। शाहले दिएको जवाफ सार्वजनिक गर्न नमिल्ने भन्दै आयोगले विवरण खुलाएको छैन।
आयोगले भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका क्रममा मानव अधिकार हनन र दमनसम्बन्धी विषयमा आयोगका सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले छानबिन गरिरहेको छ। हालसम्म १४६ जनाको बयान लिइसकिएको आयोगले जनाएको छ।
आन्दोलनका क्रममा भएको मानव अधिकार हनन, प्रहरीको बल प्रयोग, पारदर्शिता र जवाफदेहिता तथा दण्डहीनतालाई आधार बनाएर छानबिन भइरहेको र त्यसको प्रक्रिया अन्तिम चरणमा पुगेको आयोगका सहसचिव एवं प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिए।