चुनावी सरगर्मी बढ्यो, समानुपातिक बन्दसूचीको तयारीमा दलहरू
काठमाडौँ, ९ पुस । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकमा राजनीतिक सरगर्मी तीव्र बनेको छ । निर्वाचनका लागि अब ७१ दिन मात्र बाँकी रहँदा राजनीतिक दलहरूले उम्मेदवार चयन र आन्तरिक चुनावी रणनीतिलाई सघन बनाएका छन् ।
निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै निर्वाचनको तयारीलाई समानान्तर रूपमा अगाडि बढाएको छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । यता प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा नजिकिएसँगै दलहरूभित्र आन्तरिक छलफल चुलिएको छ ।
मङ्गलबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूसँग शीतल निवासमा परामर्श गर्नुभएको थियो । सरकारले निर्वाचनको आवश्यक प्रबन्ध मिलाएको र आयोगले कार्यतालिकाअनुसार काम अघि बढाएकाले चुनावी वातावरण बन्दै गएको राजनीतिक वृत्तको बुझाइ छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूचीका लागि ९३ दलले निवेदन दिएका छन् । आयोगको कार्यतालिका अनुसार दलहरूले समावेशी समूह मिलाएर आगामी पुस १३ र १४ गतेभित्र उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ ।
यसपटकको निर्वाचनमा राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कलाई आधार मानी समावेशी समूहको प्रतिशत निर्धारण गरिएको छ । जनसङ्ख्याको बदलिँदो अवस्थाअनुसार उम्मेदवार छनोटमा सहज होस् भन्नका लागि आयोगले राजनीतिक दलहरूलाई आवश्यक प्राविधिक तालिम समेत प्रदान गरिसकेको छ ।