वन्यजन्तुको आखेटोपहार तस्करीमा सजाय पाएका फरार कैदी गोकर्णेश्वरबाट पक्राउ
काठमाडौँ, ९ पुस । वन्यजन्तुको आखेटोपहार (सालकको खपटा) ओसारपसार मुद्दामा कैद सजाय काटिरहेका बेला कारागारबाट फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–५ घर भएका टसी तामाङलाई काठमाडौँको गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको हो ।
तामाङ गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको फाइदा उठाउँदै केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल, सुन्धाराबाट फरार भएका थिए ।
संरक्षित वन्यजन्तु सालकको खपटा ओसारपसार गरेको अभियोगमा गौरीशङ्कर संरक्षण क्षेत्र कार्यालय दोलखाले २०७० मङ्सिर १७ गते तामाङलाई दोषी ठहर गरेको थियो । सो फैसलाअनुसार उनलाई पाँच वर्ष कैद र ६२ हजार १७५ रुपैयाँ जरिवाना तोकिएको थियो । उनी सुन्धारास्थित जगन्नाथदेवल कारागारमा आफ्नो कैद भुक्तान गरिरहेका थिए ।
कारागारबाट भागेपछि लुकिछिपी बस्दै आएका तामाङलाई ब्युरोको विशेष टोलीले सुराकीको आधारमा मङ्गलबार पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बाँकी कैद सजाय भुक्तानका लागि पुनः केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा बुझाइएको ब्युरोले जनाएको छ ।