सुनचाँदीको भाउमा दिनदिनै नयाँ रेकर्ड, सुन प्रतितोला २ लाख ६८ हजार नाघ्यो

काठमाडौँ, ९ पुस । नेपाली बजारमा सुन र चाँदीको मूल्यले दैनिक नयाँ ऐतिहासिक उचाइ कायम गरिरहेको छ । केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ बुधबार पुनः प्रतितोला ९ सय रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको नयाँ मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ निर्धारण गरेको छ । मंगलबार मात्रै ५ हजार ५ सय रुपैयाँले बढेर सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १६५ रुपैयाँले बढेर ४ हजार ४२० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सुनको तुलनामा चाँदीको मूल्य वृद्धिदर प्रतिशतका आधारमा केही उच्च देखिएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड बनिरहेको व्यवसायीहरू बताउँछन् ।