सिनामंगलबाट साढे ४ किलो कोकिनसहित तीन विदेशी पक्राउ, यसरी भएको थियो तस्करी
काठमाडौं, १० पुस । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले झण्डै साढे ४ किलो अवैध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । काठमाडौंको सिनामंगल क्षेत्रबाट बरामद गरिएको उक्त कोकिनको परिमाण ४ किलो ३०० ग्राम रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा थाइल्याण्डकी ४० वर्षीया रुसानी कामा, भारतका ५५ वर्षीय जेभियर म्याथ्यू थालियाचेरी र भारतकै २१ वर्षीय मुर्सालेन हुसेन रहेका छन् । उनीहरूलाई ब्युरोबाट खटिएको विशेष टोलीले निगरानीका क्रममा नियन्त्रणमा लिएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बरामद गरिएको कोकिन हवाई मार्ग हुँदै नेपाल भित्र्याइएको खुलेको छ । थाइ नागरिक कामा लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी थिइन् । उनले १२ वटा प्लास्टिकका क्याप्सुलभित्र लुकाएर ५५० ग्राम कोकिन ल्याएको अवस्थामा फेला पारिएको हो ।
त्यस्तै, भारतीय नागरिक जेभियर म्याथ्यू थालियाचेरी लाओसबाट सिङ्गापुर हुँदै काठमाडौं आएका थिए । उनले आफ्नो सुटकेसभित्र फल्स बटम बनाएर ३ किलो ७५० ग्राम कोकिन लुकाएर ल्याएका थिए । अर्का भारतीय नागरिक मुर्सालेन हुसेन भने सो कोकिन बुझ्नका लागि मात्रै नेपाल आएको अनुसन्धानबाट खुलेको छ ।
ब्युरोका सहप्रवक्ता एवम् डीएसपी जीवन निरौलाका अनुसार पक्राउ परेका तीनै जनाले नेपाललाई ट्रान्जिट बनाएर वा नेपालमै बसेर कोकिनको अन्तर्राष्ट्रिय कारोबार गर्ने योजना बनाएको देखिएको छ ।