सिन्धुली कारागारबाट फरार कैदी लागुऔषधसहित काठमाडौँबाट पक्राउ
काठमाडौँ, १२ पुस । लागुऔषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका अवस्थामा कारागारबाट फरार भएका एक व्यक्तिलाई प्रहरीले पुनः लागुऔषधसहित काठमाडौँको बलम्बुबाट पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुलीको फिक्कल गाउँपालिका–६ का २६ वर्षीय राहुल तामाङलाई शनिबार सार्वजनिक गरेको हो ।
तामाङ लागुऔषध मुद्दामा दोषी ठहर भई गत भदौ ५ गतेदेखि सिन्धुली कारागारमा कैद सजाय काटिरहेका थिए । तर, गत भदौ २४ गते सिन्धुलीमा भएको आन्दोलन र प्रदर्शनको फाइदा उठाउँदै उनी कारागारबाट फरार भएको प्रहरीले जनाएको छ ।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार तामाङ फरार भएपछि पुनः लागुऔषधको अवैध बिक्री–वितरणमा सक्रिय रहेको विशेष सूचना प्राप्त भएको थियो । सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–१०, बलम्बु क्षेत्रबाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने समयमा तामाङको साथबाट प्रहरीले विभिन्न प्रकारका ५० थान लागुऔषधजन्य इन्जेक्सन बरामद गरेको छ । जसमा १५ थान डाइजोपाम, १८ थान प्रोमेथाजिन हाइड्रोक्लोराइड र १७ थान बुप्रेनोर्फिन रहेका छन् । प्रहरीको अभिलेख अनुसार तामाङ यसअघि पनि पटक–पटक लागुऔषध सम्बन्धी कसुरमा संलग्न रहँदै आएका थिए । उनी विरुद्ध २०७८ साउनमा प्रहरी वृत्त थानकोट र २०८२ असारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा लागुऔषध मुद्दा दर्ता भएको थियो ।
कारागारबाट फरार भएको र पुनः लागुऔषध कारोबारमा संलग्न भएको विषयमा उनीमाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिनुभयो । प्रहरीले लागुऔषध नियन्त्रणका लागि आफ्नो सक्रियता र निगरानीलाई थप तीव्रता दिएको समेत स्पष्ट पारेको छ ।