क्यासिनो वाल्डोका मुख्य सञ्चालक चिनियाँ नागरिक च्यान म्यान च्यिङ पक्राउ

काठमाडौं, १३ पुस । ठमेलस्थित छायाँ सेन्टरमा सञ्चालित ‘क्यासिनो वाल्डो’ मा ग्राहकलाई ठगी गरेको र प्रतिबन्धित आर्थिक कारोबार गरेको आरोपमा मुख्य सञ्चालक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार फरार सूचीमा रहेका ७५ वर्षीय चिनियाँ लगानीकर्ता च्यान म्यान च्यिङ (CHAN MAN CHYING) लाई आइतबार काठमाडौंबाटै नियन्त्रणमा लिइएको हो । परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले पक्राउ परेका च्यिङ उक्त क्यासिनोका मुख्य सञ्चालक रहेको जानकारी दिनुभयो ।

प्रहरी अनुसन्धानका अनुसार क्यासिनोमा गत डिसेम्बर ११ देखि १४ सम्म एक विशेष इभेन्ट आयोजना गरिएको थियो । उक्त इभेन्टका क्रममा ग्राहकलाई ठग्न अत्याधुनिक र नक्कली प्रविधिको प्रयोग गरिएको पाइएको छ । ठगी गर्ने उद्देश्यले भारतबाट ५० प्याकेट म्याग्नेट जडित तास र ४ सय थान विशेष प्रकारका लेन्स ल्याइएको अनुसन्धानबाट खुलेको छ ।

“आँखामा विशेष लेन्स लगाएपछि तासको दुवैतर्फको दृश्य देखिने र अन्य खेलाडीलाई सजिलै ठग्न सकिने गरी प्रबन्ध मिलाइएको देखिन्छ,” प्रवक्ता भट्टराईले भन्नुभयो । ठगी गरेर जितेको रकमको ९० प्रतिशत इभेन्ट सञ्चालकले र बाँकी १० प्रतिशत ‘नक्कली’ खेलाडीले पाउने गरी सहमति भएको प्रहरीको दाबी छ ।

यसअघि नै प्रहरीले सोही प्रकरणमा संलग्न सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डेलाई पक्राउ गरिसकेको छ । तर, क्यासिनोका नेपाली सञ्चालकहरू जनार्दन उप्रेती (विनोद), गौरव खत्री, निरजकुमार (मोनु), हीरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश भने अझै फरार रहेका छन् । प्रहरीले उनीहरूको खोजी कार्य तीव्र पारेको छ ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट नेपाली र भारतीय रूपैयाँ, चिप जडित तास, लेन्स र हवाई टिकट लगायतका प्रमाण बरामद गरेको छ । वाल्डो क्यासिनोले प्रचलित कानूनको गम्भीर उल्लंघन गरेको देखिएकाले पर्यटन विभागसँग समन्वय गरी इजाजत खारेजी लगायतका थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।