६ महिनापछि रसुवागढी नाका खुल्यो : मितेरी पुलबाट आवतजावत सुरु

रसुवा, १३ पुस । बाढीका कारण विगत ६ महिनादेखि पूर्ण रूपमा ठप्प रहेको नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा आइतबारदेखि पुनः आवतजावत सुरु भएको छ । बाढीले मितेरी पुल बगाएपछि बन्द भएको नाका आधा वर्षपछि सञ्चालनमा आएको हो ।

आइतबार बिहान ७ः०० बजेदेखि नै नेपाली ट्रकका चालकहरू सामान लिन रसुवागढीबाट केरुङतर्फ जान सुरु गरेका छन् । गत असार २४ गते ल्हेन्दे खोलामा आएको भीषण बाढीले मितेरी पुल (बेलीब्रिज) बगाएपछि यो प्रमुख व्यापारिक नाका अवरुद्ध भएको थियो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार ल्हेन्दे खोलामा नयाँ बेलीब्रिज निर्माण सम्पन्न भएपछि नाका खोल्ने बाटो प्रशस्त भएको हो । चिनियाँ अधिकारीहरूले आगामी पुस १७ गतेदेखि नाका औपचारिक रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने जानकारी दिए पनि आजैदेखि चालकहरूलाई प्रवेश दिइएको छ ।

सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले असारदेखि नै केरुङमा अड्किएका मालवाहक कन्टेनर र डिब्बाहरू ल्याउनका लागि नेपाली चालक र व्यवसायीका प्रतिनिधिहरू चीनतर्फ प्रस्थान गरिसकेको जानकारी दिनुभयो ।

नाका लामो समय बन्द हुँदा राज्य कोषमा ठुलो धक्का लागेको छ । रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले नाका बन्द हुँदा गत वर्षको तुलनामा यस अवधिमा भन्सार शुल्कबापत उठ्ने करिब २० अर्ब रुपैयाँ राजस्व नोक्सान भएको बताउनुभयो ।

असारको बाढीले मितेरी पुल मात्र नभई टिमुरेस्थित भोटेकोसी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाहमा समेत क्षति पुर्याएको थियो । साथै, रसुवागढी–स्याफ्रुबेँसी १६ किलोमिटर सडकखण्डका विभिन्न स्थानमा नदीले कटान गर्दा सडक आवागमन समेत प्रभावित भएको थियो । नाका पुनः सञ्चालनमा आएसँगै व्यवसायीहरूमा उत्साह छाएको छ भने बजारमा चिनियाँ सामग्रीको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।