जेनजी आन्दोलनमा लुटिएका ७३३ हतियार बरामद : साढे पाँच सय अझै बेपता

काठमाडौँ, १३ पुस । गत भदौमा भएको ‘जेनजी आन्दोलन’ का क्रममा सुरक्षा निकायबाट लुटिएका हतियारमध्ये हालसम्म ७३३ थान फेला परेका छन् ।

गृह मन्त्रालयका अनुसार लुटिएका कूल हतियारमध्ये झण्डै आधाभन्दा बढी हतियार सुरक्षा निकायले फिर्ता लिन सफल भएको हो ।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा आक्रोशित भीडले सुरक्षाकर्मीमाथि आक्रमण गरी ठुलो संख्यामा हतियार लुटेका थिए । तथ्याङ्कअनुसार उक्त समयमा नेपाल प्रहरीका मात्रै १ हजार २७१ थान हतियार लुटिएका थिए । सशस्त्र प्रहरीका समेत गरी करिब १३ सयको हाराहारीमा हतियार हराएकोमा अझै ५ सय ५० थान हतियार फेला पर्न बाँकी छ ।

हराइरहेका हतियारमध्ये केही प्रदर्शनकारीले खोलानाला तथा झाडीमा फालेको र केही भने आपराधिक समूहले लुकाएको हुनसक्ने सुरक्षा निकायको प्रारम्भिक विश्लेषण छ । गृह मन्त्रालयमा आयोजित एक ब्रिफिङमा सुरक्षा प्रमुखले भने, “धेरैजसो हतियार फिर्ता आइसकेका छन् । बाँकी रहेकामध्ये केही आपराधिक पृष्ठभूमिका व्यक्तिहरूले लुकाएको र अन्य भने कतै फालिएको हुनसक्ने हाम्रो निष्कर्ष छ ।”

लुटिएका हतियार खोजी गर्न प्रहरीले विशेष अपरेसन नै सञ्चालन गरिरहेको छ । सोही क्रममा आन्दोलनमा लुटिएका बाहेक नै थप ३२ थान अवैध हतियार समेत प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ । बाँकी रहेका हतियारहरू पनि छिट्टै फेला पार्न सुक्ष्म ढङ्गले अनुसन्धान र खोजी कार्यलाई तीव्रता दिइएको गृह मन्त्रालयले जनाएको छ ।