वीरगञ्ज नाकाबाट मानव बेचबिखनमा परेका १६३ महिला तथा किशोरीको उद्धार

पर्सा, १३ पुस । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत वीरगञ्ज नाकाबाट सन् २०२५ मा जोखिमपूर्ण अवस्थामा रहेका १६३ जना महिला तथा किशोरीको उद्धार गरिएको छ ।

माइती नेपालले सीमा क्षेत्रमा गरेको कडा निगरानीका क्रममा उनीहरूलाई सम्भावित मानव बेचबिखनको जोखिमबाट जोगाएको हो ।

माइती नेपाल वीरगञ्जकी पर्यवेक्षक गोमाकुमारी पौडेलका अनुसार उद्धार गरिएकामध्ये १३० जनालाई संस्थाको आफ्नै संरक्षणगृहमा राखिएको छ । बाँकी ३३ जना महिला तथा किशोरीलाई भने नेपाल प्रहरीको समन्वयमा सुरक्षित रूपमा अभिभावकको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो ।

उद्धार गरिएकामध्ये ४० जना किशोरी १८ वर्ष मुनिका (नाबालक) रहेका छन् भने बाँकी १२३ जना १९ वर्षभन्दा माथिका रहेका छन् । विगतका वर्षहरूको तुलनामा उद्धार गरिनेको सङ्ख्यामा उतारचढाव देखिएको छ । तथ्याङ्कअनुसार सन् २०२४ मा १३५ जना र सन् २०२३ मा १९२ जना महिला तथा किशोरीलाई सीमा नाकाबाट उद्धार गरिएको थियो ।

मानव बेचबिखन न्यूनीकरणका लागि माइती नेपालले सीमा क्षेत्रमा आफ्नो सक्रियता बढाएको छ । सन् २०२५ को अवधिमा संस्थाले सीमा पार गर्ने करिब २० हजार २३१ वटा सवारीसाधनको खानतलासी तथा जाँच गरेको थियो ।

यसका साथै, मानव बेचबिखनविरुद्धको जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएका विभिन्न कार्यक्रममार्फत २२ हजार ५०० जनालाई सचेत गराइएको पर्यवेक्षक पौडेलले बताउनुभयो । सीमा नाकामा हुने यस्तो निगरानीले लुकिछिपी हुने मानव ओसारपसार नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।