राष्ट्रियसभा निर्वाचन: उम्मेदवारका लागि साढे तीन लाखको खर्च सीमा तोकियो (विवरणसहित)
काठमाडौँ, १४ पुस । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूले गर्न पाउने खर्चको अधिकतम सीमा निर्धारण गरेको छ । आयोगका अनुसार प्रति उम्मेदवार तीन लाख ५० हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाउने गरी सीमा तोकिएको हो ।
आयोगले शीर्षकगत रूपमा खर्चको बाँडफाँट समेत स्पष्ट पारेको छ । जसअनुसार गोष्ठी तथा अन्तरक्रियाका लागि सबैभन्दा बढी एक लाख रुपैयाँ र सवारी साधनका लागि ७० हजार रुपैयाँ खर्च गर्न पाइनेछ । यस्तै कार्यालय सञ्चालनका लागि ७० हजार, प्रतिनिधि परिचालन र विविध शीर्षकमा ३०–३० हजार रुपैयाँको सीमा तोकिएको छ ।
प्रचारप्रसार सामग्रीका लागि १४ हजार ५००, छापा एवं विद्युतीय माध्यममा गरिने प्रचारका लागि १४ हजार ५००, सवारी इन्धनका लागि १० हजार, ढुवानीका लागि १० हजार र मतदाता नामावली खरिदका लागि एक हजार रुपैयाँ खर्च गर्न पाइने आयोगले जनाएको छ ।
आयोगले निर्वाचन खर्च पारदर्शी बनाउन उम्मेदवारहरूले बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खातामार्फत मात्र कारोबार गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । साथै, खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने र निर्वाचन सम्पन्न भएपछि राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम खर्चको विवरण सार्वजनिक गरी आयोगमा पेस गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।