बाँकेका कारागार र सुधार गृहबाट फरार बन्दी मध्ये अधिकांश अझै सम्पर्कविहीन

नेपालगञ्ज,  पुस १४ ।  बाँकेको नौबस्ता कारागार र विभिन्न बाल सुधार गृहबाट ‘जेनजी’ प्रदर्शनका क्रममा फरार भएका कैदीबन्दीमध्ये ठूलो सङ्ख्या अझै पक्राउ पर्न सकेका छैनन् । नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये हालसम्म ५२ जना मात्रै प्रहरीको नियन्त्रणमा आएका छन् ।

नौबस्ता कारागारका जेलर जालन्धर भुसालका अनुसार पक्राउ परेका ५२ मध्ये ४२ जनालाई प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो भने १० जना अन्य जिल्लाका कारागारमा हाजिर भएपछि फिर्ता ल्याइएको हो । हाल ९३ जना कैदी अझै फरार सूचीमा छन् । “सुरुमा केही कैदीहरू आफैँ सम्पर्कमा आए पनि अहिले त्यो क्रम रोकिएको छ,” भुसालले भन्नुभयो, “खुला सिमानाको फाइदा उठाउँदै उनीहरू भारततर्फ पलायन भएको हुनसक्ने हाम्रो अनुमान छ ।”

नौबस्तास्थित बाल सुधारगृहबाट भागेका ७८ बालबन्दीमध्ये हालसम्म ३९ जना मात्रै सम्पर्कमा आएका छन् । भदौ २४ गते राति प्रहरीसँगको झडपपछि उनीहरू फरार भएका थिए । सुधारगृहका प्रमुख श्यामबहादुर रानाले फरारहरूको खोजीका लागि विभिन्न माध्यमबाट प्रयास भइरहेको जानकारी दिनुभयो ।

त्यसैगरी, डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृहबाट फरार ११५ बालबन्दीमध्ये हालसम्म ५८ जना पक्राउ परेका छन्। सुधारगृहका प्रमुख किशोर शर्माका अनुसार केहीलाई प्रहरीले पक्राउ गरेको, केहीलाई अभिभावकले बुझाएको र केहीले स्वतःस्फूर्त आत्मसमर्पण गरेका हुन्। यहाँ अझै ५७ जना बालबन्दी फरार छन् ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवं फरार बन्दी खोजी तथा पक्राउ कार्यदलका संयोजक पूर्णबहादुर खत्रीले फरार बन्दीहरू नेपालमा फेला नपर्नुले उनीहरू भारतमा लुकेर बसेको सङ्केत गरेको बताउनुभयो । उहाँका अनुसार फरार बन्दीका परिवारलाई पत्राचार गरिएको छ भने प्रहरी टोलीलाई उच्च सतर्कताका साथ परिचालन गरिएको छ ।

गत भदौमा नौबस्ता बालसुधार गृहबाट भाग्ने क्रममा प्रहरीले चलाएको गोली लागेर पाँच जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरूमा उमेश विष्ट (अछाम), विनेश घर्तीमगर (दाङ), समीर थापा (बाँके), भूपेन्द्र खत्री (दैलेख) र जगत देउवा (कैलाली) रहेका थिए । सरकारले फरार सबैलाई असोज २० गतेसम्मको समयसीमा दिएर आत्मसमर्पण गर्न आह्वान गरे पनि ठूलो सङ्ख्या अझै फरार नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *