प्रतिनिधिसभा निर्वाचन: उम्मेदवारका लागि निर्वाचन खर्चको सीमा निर्धारण, काठमाडौँमा २५ लाख र अन्यमा ३३ लाखसम्म

काठमाडौँ, १५ पुस । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूले गर्न पाउने खर्चको अधिकतम सीमा तोकेको छ । भौगोलिक सुगमता र निर्वाचन क्षेत्रको संवेदनशीलतालाई आधार मानी फरक–फरक क्षेत्रका लागि फरक खर्च सीमा निर्धारण गरिएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार काठमाडौँका ५ वटा निर्वाचन क्षेत्र (क्षेत्र नं १, ३, ६, ७ र ८) का उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । त्यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका लागि २७ लाख, ६५ वटा निर्वाचन क्षेत्रका लागि २९ लाख र ५२ वटा निर्वाचन क्षेत्रका लागि ३१ लाख रुपैयाँको खर्च सीमा तोकिएको छ । दुर्गम र भौगोलिक रूपमा ठूला मानिएका २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले भने अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

निर्वाचन खर्चलाई पारदर्शी बनाउन आयोगले उम्मेदवारहरूलाई बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खातामार्फत मात्र कारोबार गर्न निर्देशन दिएको छ । उम्मेदवारले आफ्नो तर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोक्नुपर्ने र ती अधिकारीको विस्तृत विवरण निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र उम्मेदवारले आफ्नो खर्चको पूर्ण विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ । तोकिएको सीमाभन्दा बढी खर्च गर्ने वा विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन ऐन बमोजिम कारबाही गरिने समेत आयोगले स्पष्ट पारेको छ ।