प्रतिनिधिसभा निर्वाचन लक्षित मतदाता शिक्षा भोजपुरमा सुरु: विद्यार्थीमार्फत घरघरमा सचेतना फैलाइने
भोजपुर, १५ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरमा विद्यालय केन्द्रित मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ। नयाँ पुस्तालाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्त्व र नागरिक कर्तव्यबारे सुसूचित गराउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले यो अभियान थालेको हो।
अभियान अन्तर्गत भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयमा पहिलो अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई मतदाता नामावली, मतदानको सही तरिका, गोप्य मतदानको महत्त्व र लोकतान्त्रिक प्रणालीमा नागरिकको भूमिकाबारे विस्तृत जानकारी दिइएको थियो।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले विद्यार्थीलाई प्रदान गरिएको यो शिक्षाले उनीहरूका अभिभावक र समुदायसम्म सचेतना पुर्याउने लक्ष्य राखिएको बताउनुभयो। “विद्यार्थीहरू समाजका संवाहक हुन्, उनीहरूका माध्यमबाट घरघरमा सही सूचना पुग्ने र निर्वाचनमा मतदाताको सहभागिता बढ्ने हाम्रो विश्वास छ,” सुवेदीले भन्नुभयो।
यशोधरा माविका प्रधानाध्यापक ध्रुवराज रेग्मीले निर्वाचन कार्यालयले विद्यालयमै पुगेर सञ्चालन गरेको यो कार्यक्रम प्रभावकारी रहेको र यसले विद्यार्थीलाई जिम्मेवार नागरिक बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो।
जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार आगामी फागुन २१ को निर्वाचनमा भोजपुर जिल्लाबाट कुल एक लाख २५ हजार ७६६ मतदाताले मतदान गर्नेछन्। जिल्लाभरका विभिन्न विद्यालयमा यो मतदाता शिक्षा कार्यक्रमलाई निरन्तरता दिइने निर्वाचन कार्यालयले जनाएको छ।